ईश्वरराज ढकाल, काठमाडौं
रानीपोखरीको सामुन्नेमा रहेको दरबार हाइस्कुल पुनर्निर्माण शुरू भएको छ। दरबार हाइस्कुल अगाडि रहेको रानीपोखरी कहिलेबाट पुनर्निर्माण हुन्छ अत्तोपत्तो छैन।
सरकारको कमजोरीका कारण रानीपोखरी पुनर्निर्माण अझै अनिश्चित भएको छ। कहिले नेपाली सेनाले बनाउने त कहिले कामपाले भन्ने हल्लाले रानीपोखरी पुनर्निर्माण अनिश्चित भएको हो।
कामपाको स्वामित्वमा रहेको रानीपोखरी साउनमै बनाउने हल्ला थियो। तर ड्रइङ डिजाइन तयार नभएका कारण बनाउन नसकिएको बताउँदै आएको कामपाले भदौमा बल्ल टेन्डर खोल्ने तयारी गरेको छ।
पुरातत्व विभागले गएको चैत ६ गते उपलब्ध गराएको नक्सा पुनरावलोकन गरी नयाँ नक्सा तयार गरिसकेको छ। ‘अब ढिलोमा एक महिनाभित्र टेन्डर निकाल्नेछांै।’ –कामपा पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले भन्नुभयो।
उहाँले नेपाली सेनाले बनाउने भन्ने विषय हल्ला मात्र भएको बताउँदै अब टेन्डर प्रक्रियाबाटै काम अघि बढ्ने दाबी गर्नुभयो।
दरबार स्कुल पुनर्निर्माण गर्ने विषयमा पनि विवाद भएको थियो। पछि सहमति भएपछि बल्ल पुनर्निर्माण शुरू भएको हो। काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड बनाउनैपर्ने जिकिर गरेकाले केही समय विवाद भएको थियो।
लगत्तै कामपा, पुरातत्व विभाग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहमतिपछि पुनर्निर्माण गर्ने सहमति भएको थियो।
चीन सरकारको ९० करोड १० लाख रुपियाँ लागतमा पुनर्निर्माण हुन लागेको हो। राणा प्रधानमन्त्री जंगबहादुरले राणा परिवारलाई पढाउन खोलेको सो विद्यालयमा भानु मावि र संस्कृत मावि गरी दुईवटा विद्यालय सञ्चालन छन्। १ सय ६५ वर्ष लामो इतिहास बोकेको सो विद्यालय राणाकालीन शैलीमा नै पुनर्निर्माण हुनेछ। चीन सरकारले करिब २० महिनामा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।
मुलुककै जेठो विद्यालय दरबार हाइस्कुलको पुनर्निर्माणको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङले संयुक्त रूपमा शिलान्यास गरे।
विद्यालय पुनर्निर्माणको शिलान्यास गर्नुहुँदै मन्त्री पोखरेलले एउटा छुट्टै इतिहास बोकेको दरबार हाइस्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मन्त्री पोखरेलले सबै सामुदायिक विद्यालयलाई सम्पूर्ण विद्यालय बनाउने आफ्नो अवधारणा रहेको दोहोर्याउँदै दरबार हाइस्कुलसँगै सम्पूर्ण विद्यालय बन्ने अपेक्षा व्यक्त गर्नुभयो।
चिनियाँ राजदूत यु होङले नेपालको विकास र समृद्धिका लागि चीन सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै भूकम्पपछि चीनले शुरू गरेका विभिन्न २५ परियोजनामध्ये २ वटा सम्पन्न भएका, १७ वटा निर्माणको चरणमा रहेका र ६ वटाको सम्भाव्यता अध्ययन जारी रहेको जानकारी दिनुभयो।
उता विवादको घेरामा रहेको रानीपोखरी पुनर्निर्माण गर्नुअघि वल्र्ड वाइड कँडेल के एन्ड केजी जेभीले करिब ७ करोड रुपियाँमा टेन्डर पारेर २०७३ वैशाख १० देखि काम शुरू गरेको थियो।
मल्लकालीन संरचना रहेको रानीपोखरीमा कंक्रिट वाल लगाएर बिना अध्ययन रानीपोखरीको निर्माण गर्न थालेको भन्दै स्थानीयले विरोध जनाएका थिए। त्यसलगत्तै कामपाले सो कम्पनीसँग ठेक्का रद्द गरेको थियो।
करिब साढे २ करोड रुपियाँ लगाएर पुरानो संरचना भत्काएको थियो। २ साताअघि रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृतिमन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, कामपाका मेयर विद्यासुन्दर शाक्यसहितको बैठकमा कामपाका मेयर शाक्यले रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने विषय उठान गर्नुभएको थियो। करिब ४ सय वर्ष पुरानो मल्लकालीन धरोहर रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने भन्ने मेयरको भनाइ सर्वत्र विरोध भएको थियो।
‘कहाँ र कसरी यस्तो विषय उठान भयो थाहा छैन, अब कामपाले टेन्डरबाटै काम अघि बढाउनेछ’, विभागीय प्रमुख थापाले भन्नुभयो– ‘विदेश भ्रमणबाट फर्केलगत्तै टेन्डर खोल्नेछौं त्यसपछि पुनर्निर्माणको कामलाई अघि बढाउनेछौं।’
अब बन्ने रानीपोखरी पुरातत्व विभाग र विज्ञ समितिले दिएको सुझावका आधारमा मल्लकालीन शैलीमै निर्माण हुने बताउनुभयो। करिब १५ करोड रुपियाँमा नयाँ टेन्डर दिने तयारीमा रहेको बताउनुभयो।











प्रतिक्रिया