रोटरी क्लव अफ कान्तिपुरको छुट्टै पहिचान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
रोटरी क्लव अफ कान्तिपुर स्थापना भएको २ दशकको अवधिमा नेपालका विभिन्न भेगमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई र अन्य सामाजिक गतिविधीमा क्रियाशिल भएको छ ।
दुर्गमदेखि सुगम क्षेत्रमा यस्ता गतिविधी जारी रहेको क्लवले जनाएको छ ।

महिलाहरुको आङ खस्ने समस्या पहिचान र उपचारका क्रममा मकवानपुरमा ३ वर्षको अवधिमा करिव १२ हजार महिलाको शल्यक्रिया विना उपचार भएको क्लवका वर्तमान अध्यक्ष एवं पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक नवराज ढकालले जानकारी दिनुभयो । ‘यो समस्या समाधानका लागि मकवानपुरमा क्लव टोली निरन्तर ३ वर्षसम्म खट्यो’–उहाँले भन्नुभयो ।

त्यसैगरी विभिन्न ७ जिल्लाका सरकारी विद्यालयमा अध्ययन गर्ने ३ सय भन्दा बढी छात्र–छात्रालाई बार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउने गरिएको ढकालले जानकारी दिनुभयो । विद्यालय भर्ना भएका विद्यार्थीले आर्थिक अभावको कारण जनाउँदै वीचैमा पढाई छोड्ने क्रम रोक्न सिन्धुपाल्चोक, पर्वत, नवलपरासी, नुवाकोट, सिन्धुली लगायतका जिल्लामा विपन्न परिवारका छात्र–छात्रालाई न्यूनतम ३ हजार देखि ७ हजार रुपियाँसम्मको छात्रवृत्ति क्लवले प्रदान गर्दै आएको छ ।

त्यस्तो छात्रवृत्तिको प्राथमिकतामा छात्रा रहने गरेका छन् । त्यसैगरी क्लवको पहलमा हालै काठमाडौंको गोलढुंगास्थित पृथ्वी नारायण माध्यामिक विद्यालयमा खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएको विद्यालय र आसपासका बासिन्दालाई लक्षित गरी ३७ लाखको लागतमा खानेपानी परियोजना सम्पन्न भएको क्लवका पूर्व अध्यक्ष राजेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । रोटरी क्लव अफ कान्तिपुरले यस अघि वीर अस्पतालमा खानेपानी सुविधा उपलब्ध गराइसकेको छ भने सोही अस्पतालको ट्रमा सेन्टरमा पनि खानेपानी उपलब्ध गराउने बारेमा तयारी भइरहेको उहाँले बताउनुभयो ।

रोटरी इन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ अन्र्तगत १ सय १९ क्लव छन् त्यस मध्ये एउटा क्लव भुटानमा छ । डिस्ट्रीक्ट ३२९२ अन्र्तगतका सबै क्लव मध्ये कान्तिपुर क्लव उत्कृष्ट २० मा रहेको क्लव पदाधिकारीको दावी छ ।