पहिरोका कारण मुसिकोट चौरजहारी यातायात अवरुद्ध

0
Shares

धनवीर दाहाल, रुकुम ।
मध्यपहाडि लोकमार्ग अन्र्तगत पर्ने रुकुम पश्चिमको मुसिकोट देखी चौरजहारी सम्मको यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासंगै सडकखण्डको विभिन्न ठाउँमा झरेको पहिरोका कारण दुई हप्तादेखी यातायात सेवा अवरुद्ध भएको हो ।
सडकखण्डमा झरेको पहिरोले मुसिकोट–चौरजहारी तथा चौरजहारी–मुसिकोटका लागि चल्ने नियमित यातायात सेवा ठप्प भएको छ । प्रत्येक दिन साना तथा ठूला सवारी साधनहरु चल्ने गरेको यस सडक खण्डमा यातायात सेवा नै अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या भएको छ । वर्षाले सडक अवरुद्ध हुँदा काम विशेषले सदरमुकाम आउने र फर्किने गरेका धेरैजसो यात्रुहरु पैदल हिंड्न बाध्य बनेका छन् ।

मध्यपहाडी लोकमार्ग अन्र्तगत चौरजहारी नगरपालिकाको वडा नम्बर ८ को ढुङ्गेखानी र गोइरीज्यूला तथा सानोभेरी गाउँपालिकाको अधिकांश सडकखण्डको भूभागमा पहिरो झर्दा यातायात सेवा अवरुद्ध भएको हो ।

वर्षा रोकिएको अवस्थामा भने मुसिकोटबाट चाईनाबगर सम्मका लागि केही साना जीपहरु फाट्टफूट्ट चल्ने गरेका छन् । मुसिकोटदेखी चौरजहारी सम्मको ४६ किलोमिटर दूरी रहेको यो सडकखण्डको धेरैजसो भूभागमा पहिरो झर्दा तीब्र गतिमा निर्माण भईरहेको मध्यपहाडि लोकमार्ग सडकखण्डको काम समेत प्रभावित बनेको छ ।

वर्षाका कारण प्रभावित बनेको यस मध्यपहाडि लोकमार्गको काम आगामी दुई वर्षभित्रै सम्पन्न गर्ने बताईएको छ ।