धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कुपोषित बालबालिकाको संख्यामा बृद्धि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीका अनुसार साविकको कोटजहारी गाविसमा ३३ जना बालबालिकाहरु कुपोषित भेटिएका छन् ।
स्वास्थ्य शिक्षाको अभाव र जनचेतनाको कमीका कारण वडा नम्बर ६, ७, ८ र ९ मा कुपोषित बालबालिकाहरुको संख्या बढेको हो । आर्थिक वर्ष ०७४/७५ को अवधिमा प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा स्वस्थ्य जाँच गराउन आएका बालबालिका मध्ये ३३ जना बालबालिकाहरु कुपोषित भेटिएका हुन् ।
तर सबै कुपोषित बालबालिकालाई प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीले समयमै आईमाम सेवा मार्फत उपचार गरेको निमित्त कार्यालय प्रमुख प्रेमा केसीले बताईन् । उनका अनुसार कुपोषित बालबालिकाहरुको संख्या बढ्नुमा दैनिक खानपान, अशिक्षा र जनचेतनाको कमि हो ।
यहाँका चार वडामा मात्र यतिधेरै कुपोषित बालबालिकाहरु भेटिएपछि चौरजहारी नगरपालिकामा अन्य कुपोषित बालबालिकाहरुको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा धेरैजसो बिरामीहरु स्वास्थ्य चेकजाँच तथा उपाचारका लागि स्वास्थ्य केन्द्रमा जाने गर्दैनन् । भौगोलिक दूरीको समस्या तथा स्वास्थ्य केन्द्र समेत पायक पर्ने स्थानमा नभएकाले यस क्षेत्रका विरामीहरु निजी स्वास्थ्य केन्द्रमा जाने गर्दछन् ।
सिटमोलको भरमा चलेको प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा निशुल्क रुपमा पाईने औषधि समेत नपाईने भएकाले अन्य विरामीहरुलाई पनि समस्या हुने गरेको छ । डाक्टर विहीन बनेको प्राथमिक स्वास्थ्य केन्द्र कोटहजहारीले लामो समयदेखी जिर्ण भवनमा रहेर विरामीलाई सेवा दिईरहेको छ ।
निर्माणको क्रममा रहेको स्वास्थ्य भवनको काम नसकिएकाले हाल पुरानै जिर्ण भवनमा बिरामीहरुको स्वास्थ्य चेकजाँच तथा उपचार हुँदै आईरहेको छ । यस स्वास्थ्य केन्द्रमा गुणस्तरीय सेवा र औषधि नपाईने भएकाले प्रायजसो विरामीहरु मिसन अस्पत्ताल चौरजहारी र जाजरकोट जिल्ला जाने गरेका छन् ।











प्रतिक्रिया