नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरेका छन् । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले उपमन्त्री वाङ समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे ।
सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सी जिन फिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट नेपालमा राजनीतिक स्थायीत्व कायम भएकोमा बधाइ पनि दिए ।
उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए ।











प्रतिक्रिया