असारे आरोपबाट मुक्त हुने बैतेश्वर गाउँपालिकाको उद्घोष

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
दोलखाको बैतेश्वर गाँउपालिकाले परम्परागत विकास प्रकृयाको अन्त्य गर्दै प्रभावकारी र दिगो विकास प्रकृया सुरु गर्न आर्थिक बर्ष ०७५÷०७६ मा असारे आरोपबाट मुक्त हुने घोषणा गरेको छ ।

हरेक विकासे अड्डा र स्थानिय तहलाई विकासे गतिविधि असारमा आएरमात्र सञ्चालन हुने भएकोले कामको प्रभावकारीता र पारदर्शीता नहुने आरोप लाग्ने गरेकोले बैतेश्वर गाँउपालिकाले आर्थिक बर्ष ०७५÷०७६ को विकास निर्माण तथा सेवा प्रवाहको लागि स्वीकृत बार्षिक विकास कार्यक्रमहरु जेठ मसान्तसम्म सकाउने निर्णय गरेको कार्यकारी अधिकृत नवराज पराजुलीले बताए ।

गाँउपालिकाले असारमा गएर खर्च गर्ने परिपाटी र असारे विकासलाई क्रमशः अन्त्य गर्ने लक्ष्य लिएको पराजुलीको भनाई छ । गाँउपालिकाले गर्ने खर्च समेत जेठ मसान्त भित्रैनै गरिसक्ने पराजुलीले बताए ।

असारे आरोपबाट मुक्त हुन गाँउपालिकाको परिषद बैठकले श्रावण भित्र ठेक्का मार्फत गरिने कामको प्रकृया सुरु गर्ने, भाद्र मसान्तसम्म उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिलाई अभिमुखिकरण गरेरमात्र आयोजना सुरु गर्ने, भाद्र मसान्तसम्म उपभोक्ता समिति गठन हुन नसकेका आयोजनाहरु ठेक्का प्रकृयाबाट सञ्चालन गर्ने कार्ययोजना पास गरेको छ ।

त्यसैगरी परिषद बैठकले आर्थिक बर्षको मध्यावधिमा विकास निर्माण एवं सेवा प्रवाहलाई समिक्षा गर्दै सो समयमा सुरु हुन नसकेको आयोजनाहरुको बजेट रिभाईज गर्ने, श्रावण भित्र बार्षिक योजना कार्यान्वयन निर्देशीका तयार गरी आगामी आर्थिक बर्षको विकास निर्माण, सेवा प्रवाहलाई प्रभावकारी, नागरिक मैत्री एवं चुस्त दुरुस्त बनाउने निर्णय समेत भएको कार्यकारी अधिकृत पराजुलीले बताए ।

भुकम्प पछि नीजि आवास निर्माणको समयमा बजारमा महंगी, कालोबजार तथा मनोमानि बढेकोले सो को नियन्त्रण गर्न अनुगमन समितिलाई सक्रिय बनाई निर्माण, ढुवानी तथा प्राकृतिक स्रोत साधनको न्युनतम दररेट तयारीको लागि अन्तर स्थानिय तह एकरुपता ल्याउन सहकार्य गर्ने निर्णय भएको गाँउपालिका प्रमुख छवि लामाले बताए ।

गाँउपालिकाको भौतिक संरचना निर्माणको लागि नाम्दुको पाँडुडाडामा ५५ रोपनी निशुल्क जग्गा उपलब्ध गराएकोले तत्कालै कार्यालय भवन निर्माण लगाएतको काम समेत सुरु गरिने लामाको भनाई छ ।

गाँउपालिकाले एक बर्षको अवधिमा हरेक वस्तिमा सडकको पहुँच पु¥याएको, भुकम्प पछिको पुर्ननिर्माणको कामलाई तिब्रता दिएको, गाँउपालिका तथा सबै वडा कार्यालयहरुलाई प्रविधि मैत्री बनाईएको, सार्वजनिक सुनवाई, गुनासो सुनवाई, नागरिक वडापत्र राख्ने जस्ता पारदर्शीताको कामलाई समेत प्राथामीकताका साथ अगाडि बढाईएको दोलखाका सात गाँउपालिका र दुई नगरपालिकामा बैतेश्वर गाँउपालिका हरेक हिसाबले अब्बल रहेको प्रमुख लामाको दावि छ ।

बैतेश्वर गाँउपालिकाले आर्थिक बर्ष ०७४÷०७५ मा स्वीकृत बार्षिक विकास कार्यक्रममा ९० प्रतिशत भौतिक प्रगति र करिब ८८ प्रतिशत वित्तिय प्रगति गर्न सकेको कार्यकारी अधिकृत पराजुलीले बताए । त्यसैगरी आर्थिक बर्ष ०७५÷०७६ को लागि स्वीकृत बार्षिक विकास कार्यक्रम कार्यान्वयनको लागि ३६ करोड, ७८ लाख ८८ हजार अनुमानित आय र व्ययको प्रक्षेपण गरिएको गाँउपालिकाले जनाएको छ ।