काठमाडौं,(नेस) । सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम संचालन भएको छ ।
सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा यस्ता तालिमले कर्मठ, सक्षम र कूशल अधिकृत निर्माण गर्नुकासाथै पेशागत दक्षता अभिवृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि संगठनले यस्ता व्यावसायिक तालिमहरु संचालन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै प्रशिक्षार्थीहरुले अनुशासित तथा लगनशिल भई तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ कृयाशिल हुनुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले उपलब्ध स्रोत साधनहरुको अधिकतम प्रयोग गर्दै आवश्यकता अनुसार विभिन्न विषयमा विज्ञहरुद्वारा समेत प्रशिक्षण प्रदान गरिने चर्चा गर्नुहुँदै यस्ता तालिम प्राप्त जनशक्तिले कार्यक्षेत्रमा आईपर्ने विभिन्न जिम्मेवारीहरु सहजताकासाथ सम्पन्न गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक तुलबहादुर भण्डारीले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
१९ हप्ता अवधिको उक्त तालिममा ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, खबर संकलन, हुल तथा दंगा व्यवस्थापन, विपद व्यवस्थापन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, हतियार ह्याण्डलिनङ, स्टाफ ड्यूटि लगायतका विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइने कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।
उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।











प्रतिक्रिया