काठमाडौं (नेस),
बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई कारवाहीको माग गर्दै नेपाली काग्रेसले प्रतिनिधिसभामा जरुरी सार्वजनीक महत्वको प्रस्ताव दर्ता गरेको छ ।
केहि समयअघि प्रसाईले सार्वजनिक संचार माध्यम तथा सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वदेश फर्किएका तथा हाल त्यहाँ अध्ययनरत छात्रहरुप्रति अपमानपूर्ण अभिव्यक्ति दिएर संविधान र कानुनको उक्त प्रावधानको ठाडो उलंघन गर्ने कार्य गरेको काग्रेसको आरोप छ ।
सांसाद लक्ष्मी परियार तथा प्रमिला राईले समर्थन गर्नुभएको छ । स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्चशिक्षा हाँसिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको भन्दै प्रसाई माथि कार्वाहिको माग गरिएको छ ।
प्रसाईको भनाईले सिंगो नारी जगतको अपमान गर्ने दुश्प्रयाससँगै आम स्वाभिमानी नागरिक र अविभावकको प्रतिष्ठामा समेत गम्भिर चोट पुर्याउने कार्य भएको भन्दै यो अभिव्यक्तिले नेपालको दशकौँ पुरानो मित्रराष्ट्र बंगलादेशसँगको कुटनीतिक सम्बन्धमा समेत ठूलो आँच पु¥याएको प्रस्तावमा औल्याइएको छ ।
छलफल गर्नु पर्नाका कारणबारे प्रस्ट्याउदै सार्वजनीक महत्वको प्रस्तावमा भनिएको छ– संविधानको धारा १८ को समानताको हक तथा धारा ३८ को महिलाको हक विपरित सार्वजनिक अभिव्यक्ति दिएर सिंगो महिला जगतको मान मर्दन गर्ने कार्यले संविधान र कानुनी शासनको धज्जी उडाउने कार्यले नेपाल र मित्रराष्ट्र बंगलादेशबीचको कुटनीतिक सम्बन्धमा समेत ठूलो आँच पुर्याउने दुश्प्रयास भएको छ।
यस्ता अमर्यादित गतिविधिलाई निश्तेज पार्न निजमाथि कानुन बमोजिम हदैसम्मको कारबाही गरी संविधान, कानुनको पालनामार्फत आम नेपाली महिला, विद्यार्थी र नागरिकको स्वाभिमानको रक्षा गर्न आवश्यक भएकोले यो सार्वजनीक महत्वको प्रस्ताव पेश गरिएको छ ।
नेपालको संविधानको धारा १८ ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित नगरिने प्रत्याभूति दिएको छ। यसका अतिरिक्त हाम्रो संविधानले कुनै पनि धर्म, जात, जाति, लिंग, भाषा वा क्षेत्र कुनै पनि आधारमा भेदभाव गर्न नपाइने मात्र होइन हाम्रो विद्यमान कानुनले कुनै पनि व्यक्तिलाई सार्वजनिक स्थानमा अश्लिल बोली, बचन, इशारा प्रयोगमा निषेध गरेको छ।











प्रतिक्रिया