कांग्रेसको अबको मिसनः ओली सरकार ढाल्ने

0
Shares

रोशन पराजुली, हेटौंडा ।
प्राध्यापक डा.गोविन्द केसीको अनसन प्रकरणमा सरकारलाई घुडा टेकाएर हौसिएको विपक्षी दल नेपाली कांग्रेसले अब सभामुख र उपसभामुखमध्ये एक जनालाई राजीनामा गराइ छाड्ने मिमिसन बनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशमा सभामुख र उपसभामुख एउटै दलको हुन नहुने कांग्रेसको मागदाबी छ । सभामुख कृष्ण वहादुर महराले भने आइतवारको बैठकमा अदालतमा विचाराधिन मुद्धा भएकोले प्रतिनिधिसभामा यो विषय छलफलको विषय नबन्ने स्पष्ट पारिसक्नु भएको छ । कांग्रेसले भने अदालतको विचाराधिन मुद्धा भनेर संसद जस्तो गरिमामय थलो प्रतिवादी भएर बस्न नहुने बताएको छ ।

प्रतिपक्ष कमजोर भएको आरोप खेपिरहेका बेला कांग्रेसले सरकारका कमजोरीहरुलाई मुद्धाका रुपमा उठाएर शक्ति सञ्चय गर्दै संगठन सुदृढीकरण गर्ने रणनीति लिने पार्टीका स्थानीय नेता बताउछन् । यसै विषयलाई लिएर हेटौंडामा एक दिने प्रशिक्षण कार्यक्रम उद्घाटनमा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले वर्तमान सरकारको गलत रवैया बढ्दै गएको भन्दै यसको प्रतिरोधका लागि काग्रेस कार्यकर्ता तयार रहनुपर्नेमा जोड दिइन् ।

कांग्रेस नेतृ डीनाले काग्रेसले अब सरकारका हरेक गलत कार्यविरुद्ध सदन र सडकबाट संघर्ष गरिने भन्दै यसको पहिलो कार्यक्रम साउन १५ गते हुन लागेको बताइन् ।

‘संघीय संसद्मा र प्रदेशहरुमा पनि सभामुख र उपसभामुख अलग÷अलग पार्टीको हुनुपर्छ भनेर संविधानमा प्रष्टरुपमा उल्लेख भएको छ,’ काग्रेस मकवानपुर सभापति तथा प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाले भने– दुईमध्ये एक पद छाड्दैन भने हामी सदन र सडकमार्फत् यो मुद्धालाई लिएर सशक्त आन्दोलन गर्छौं ।

‘सरकारले संघीयताविरोधी काम गरिरहेको छ । प्रदेशहरुलाई कसरी समृद्ध बनाउने भन्ने एजेण्डा छैन,’ उनले भने–संघीयताको सिद्धान्तबमोजिम प्रदेशलाई अधिकारसम्पन्न बनाउने, त्यसलाई उपकरण दिने, संगठन दिने काम पूरा गर्नमा सरकारको कुनै ध्यान छैन । ‘सरकारले नयां किसिमको द्वन्द्व निम्त्याउन खोज्दैछ,’ उनले भने ।

नेपाली काग्रेस मकवानपुरका सभापति बानियाले नेपाली काग्रेस जनता संग मात्रै झुक्ने र कुनै पनि तानाशाही प्रवृत्तिविरुद्ध नझुक्ने बताए । उनले जनता उठ्नै नसक्ने गरी कर बढाउने सरकार जनताविरोधी भएको भन्दै यस्तो सरकारबाट कुनै सकारात्मक कामको अपेक्षा गर्न नसकिने बताए ।

उनले संघीय र प्रदेश सरकारमा सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थालाई समेत वर्तमान सरकारले मिचेको भन्दै यसविरुद्ध कांग्रेसले प्रतिकार गर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले जनताको हितमा काम गर्ने नेपाली कांग्रेस नै जनताको पार्टी भएको बताउदै आगामी दिनमा पनि निरन्तर जनताको साथमा रहने बताए ।

पार्टी हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले आन्दोलन सशक्त बनाउने दाबी गरे । हेटौंडा उपमहानगर र आसपास गाउपालिकाबाट सहभागी कार्यकर्तालाई कांग्रेस नेताहरुले प्रशिक्षण दिएका हुन् । प्रशिक्षण कार्यक्रमको मुख्य उद्धेश्य साउन १५ गतेको आन्दोलनलाई सफल बनाउने रहेको नेताहरुले बताए ।