नेपाल समाचारपत्र, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताउनुभएको छ । नेपाल टे«ड युनियन महासंघ र अखिल नेपाल टे«ड युनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले शनिबार संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो– ‘हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौं । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौं ।’ प्रम ओलीले नेकपाको सरकार गठन भएको पाँच महिना मात्रै भएको भए पनि यही अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।
‘सरकार गठन भएको पाँच महिना भयो, भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौंका सडकमा खाल्डा यही सरकारले पारेको भने जसरी प्रचार भएको छ यो गलत हो’, उहाँले भन्नुभयो– ‘तर हामी गरिब नेपालीलाई समृद्ध बनाउँछांै र आगामी दुई वर्षभित्र काठमाडौंका सबै सडक हेर्न लायक बनाउँछौं ।’
उहाँले धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सम्पदाको पुनःनिर्माण शुरु गरिने बताउनुभयो । ‘मै बनाउँछु मेरो धरहरा’ भनेर आफूले दुई वर्ष पहिले शुरु गरेको अभियान जहाँ छोडेको त्यस्तै अवस्थामा रहेको भन्दै ओलीले भन्नुभयो– ‘अब शीघ्र धरहराको पुनःनिर्माण हुन्छ । धाँजा फाटेको रानीपोखरी समेत बन्छ ।’
माइतीघर मण्डलालाई विरोध प्रदर्शनस्थल बनाइएकामा समेत उहाँले आपत्ति प्रकट गर्नुभयो ।
नेपालको मजदुर आन्दोलनले विगतदेखि नै सफलता हासिल गर्दै आएको भन्दै प्रधानमन्त्रीले सरकार सधैं मजदुरको पक्षमा रहेको र कुनै पनि मजदुर निराश हुनु नपर्ने गरी कार्यक्रम र योजना ल्याइने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीले देशभरबाटै १ सय ५ वटा तुइन विस्थापित भएर झोलुङ्गे पुल बनेको जानकारी दिनुभयो । आफ्नो पहिलो कार्यकालमा घोषणा गरेको कार्यक्रम अहिले आएर साकार भएकामा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो ।
कलिला बालबालिका घिर्नीमा हात परेर रगतै भएर हिँड्नु परेको, तुइनबाट खस्ने अवस्थाको समेत अन्त्य भएको जानकारी दिँदै उहाँले केही समयभित्रै अन्य स्थानका समेत तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण सम्पन्न हुने बताउनुभयो ।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्ट एकता विश्व समुदायका लागिसमेत चर्चा र चासोको विषय भएको बताउनुभयो ।











प्रतिक्रिया