म्याजिक भ्यानलाई कारबाही


चितवन ।
चितवनको भरतपुर महानगरपालिकाले यहाँको मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाएसँगै सो क्षेत्रमा चल्ने म्याजिक भ्यानको लापरबाही बढेपछि प्रहरीले कारवाही अभियान थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमका अनुसार म्याजिक भ्यान तीब्र गतिमा चलाउने, क्षमताभन्दा बढी सिट राख्नेलगायतका क्रियाकलाप बढेकाले कारवाही शुरु गरिएको हो ।

सिट क्षमताभन्दा बढी यात्रु बोक्ने २१ वटा म्याजिक भ्यानबाट ६५ वटा मुढा बरामद गरी म्याजिक भ्यानलाई जरिवाना लगाइएको उहाँले बताउनुभयो । गौतमका अनुसार उनीहरुलाई नियम उल्लंघनको अवस्था हेरेर रु एक हजारदेखि रु एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको छ ।

नियमित जाँचका साथसाथै म्याजिक भ्यानलाई नै केन्द्रित गरेर शुक्रबारदेखि भने टोली खटाइएको प्रहरीले जनाएको छ । यो क्रम आज पनि बिहानैदेखि जारी छ ।

साउन ५ गतेको निर्णयअनुसार भरतपुर महानगरले पूर्व–पश्चिम राजमार्गको भरतपुर खण्ड, बाइपास रोड र नारायणगढ¬–मुग्लिन सडकखण्डमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । जसका कारण अहिले मुख्य राजमार्गमा सवारी सञ्चालनमा सहज देखिएको सवारी चालकहरुले बताएका छन् ।

नियम विपरीत बढी तीनपांग्रे सवारी भित्रिएको र तीव्रगतिका कारण दुर्घटनासमेत बढेकाले नियन्त्रण गर्नुपरेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्राफिक प्रहरीले गाडीको पछाडि धाकधम्कीपूर्ण, अश्लिल खालका सायरी कविताहरु समेत हटाउन सबै सवारी चालकलाई निर्देशन दिएको छ । यस्तो लेखेको फेला परेमासमेत कारवाही हुने गौतमले बताउनुभयो ।
रासस