सरकारले जबरजस्ती आन्दोलन गर्न बाध्य बनाएको होः देउबा


नेपाल समाचारपत्र, चितवन ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जबरजस्ती आन्दोलन गर्न बाध्य बनाएको बताउनु भएको छ । प्रजातन्त्रवादी कानुन ब्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एशोसियसन (डिएलए) को १० औं राष्ट्रिय महाधिवेशनलाई आज (शनिबार) गैंँडाकोटमा सम्बोधन गर्दै सभापति देउवाले नेपाली काँग्रेसलाई आन्दोलन गर्ने रहर नभएको भन्दै जबरजस्ती आन्दोलन गर्न बाध्य बनाएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “सरकार ठिक ढंगसंग नचलेरै काँग्रेस आन्दोलनमा उत्रिनु परेको हो ।” सभापति देउवाले ओली अप्रजातान्त्रिक रुपमा अघि बढेको भन्दै लोकतान्त्रिक बाटोमा हिड्न आग्रह गर्नुभयो । उहाँले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै निरन्तर अनशन बस्दै आउनु भएका प्रा.डा.गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको बताउनुभयो ।

यस्तै फरक प्रशंगमा सभापति देउवाले फरक राजनीतिक विचारसंग लड्ने बेला आएकोले काँग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।

यस्तै सोही कार्यक्रममा बोल्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै यो संविधान प्रतिकुल रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, सहमहमन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, रमेश लेखक, बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राज्यमन्त्री देवेन्द्र कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच डेमोक्र्या्टिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनले भोलि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । महाधिवेशनमा देशभरबाट एक हजार १३१ प्रतिनिधिको सहभागिता रहेको एशोसिएसन चितवनका अध्यक्ष विष्णु अर्यालले जानकारी दिनुभयो ।