सुन किन्न गएका ग्राहकले नै सुनको सिक्री निले


सरोज यादव, विराटनगर ।
सुनको सिक्री निल्ने एकजना विराटनगरबाट पक्राउ परेका छन । विरटनगर–९ जलजलारोडस्थित राठी ज्वेलरी हाउसमा सुनको सिक्री किन्ने बहाना बनाएर गएका इटहरी उपमहानगरपालिकाका २ बस्ने ३१ वर्षीय सुरजकुमार नेपाल सुन निलेको अभियोगमा पक्राउ परेका हुन । शुक्रबार साँझ सिक्री किन्न भन्दै पुगेका नेपालले सेम्पलको रुपमा देखाइएको सुनको सिक्री पसलेलाई झुक्याएर निलेका थिए भने आफूसँग ल्याएको नक्कली सुनको सिक्री पसलेलाई फिर्ता दिन खोजेका थिए ।

पसलेले फिर्ता गरिएको सिक्री नक्कली भएको आंशका गर्दै प्रहरीलाई खबर गरेको थियो । लगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएर उनको खानतलासी गरेको थियो । खानतलासीको क्रममा समेत सिक्री फेला नपरेपछि निलेको हुनसक्ने आशंकामा उनको पेटको भिडियो एक्सरे गराइएको ज्वेलरी संचालक अरुण राठीले जानकारी दिए । भिडियो एक्सरेबाट सिक्री उनको पेटमा रहेको खुलासा भएको कोशी अञ्चल अस्पताल इमर्जेन्सी विभागका इन्चार्ज रघुनन्दन अधिकारीले जानकारी दिए । उनले पेटभित्र रहेको सिक्री शौचको माध्यमबाट बाहिर आउनसक्ने बताएका छन ।

सिक्री पेटमा रहेको खुलेपछि अभियुक्तलाई प्रहरीले कोशी अञ्चल अस्पतालमा अब्र्जभेसनमा राखेको छ । अभियुक्तले झण्डै ८० हजार पर्ने १५ ग्राम बढीको सुनको सिक्री निलेको जनाइएको छ ।