फलेबास नगरमै पहिलो होमस्टे सञ्चालनमा

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्बतको फलेबास नगरपालिकामा पहिलो पटक होमस्टे सञ्चालनमा ल्याईएको छ ।
नगरपालिकाको वडा नम्बर २ थापाठामामा रहेको मगरबस्ती खुम गाउँमा डहरे ग्रामीण होमस्टे सञ्चालनमा ल्याईएको हो । नगरभित्र आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खाने र बस्ने सुबिधालाई मध्यनजर गर्दै नगरपालिकाले होमस्टे शुरु गरेको जनाएको छ ।
खुममा ९० घर परिबार रहेपनि हाल नौ घरमा स्नानियस्तरमै उत्पादित अर्गानिक खाना खुवाउने गरि होमस्टे शुरु गरिएको छ ।

उक्त होमस्टेमा ३० जनाको बस्ने क्षमता रहेको छ । डहरे देउराली क्षेत्रमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर होमस्ट सञ्चालनमा ल्याईएको हो । नौ घरबाट सञ्चालनमा ल्याईएको होमस्टे बिस्तारै ९० घरहरुमै शुरु गर्ने लक्ष्य रहेको स्थानिय जि बहादुर थापाले बताए । थापाका अनुसार पाहुनालाई खुबाउने खाना, सरसफाई र स्बागत सत्कारको बिषयमा तालिममै ज्ञान लिईसकेको बताउँदै होमस्टेलाई थप प्रभाबकारी ढंगबाट अगाडि बढाउने सोच रहेको छ । ‘मगर संस्कृति र स्थानिय स्वादका परिकार खुवाएर पर्यटकको मन जित्ने लक्ष्य लिएका छौ’ उनले भने ‘नगरपालिकाको पहिलो होमस्टे भएकाले पनि यसलाई ब्यबस्थित बनाएर सबैलाई आउँआउँ बनाउने छौ’ ।

पर्यटकीय र धार्मिक स्थल डहरे लेकको काखमाा रहेको छ खुम गाउँ । डहरे र दक्षिण एसियाकै पहिलो होमस्टे गाउँ स्याङ्गजाको सिरुवारी नजिक भएकाले यहाँ पर्यटक भित्र्याउन सहज हुने फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा बताउँछन । डहरे लेकको प्रचारप्रसार संगै होमस्टेको प्रबद्र्धन हुने गरी कार्यक्रम ल्याउने तयारीमा रहेको प्रमुख शर्माले बताए । ‘ आर्कर्षक र मनमोहक ठाउँहरुका साथै ऐतिहासिक गन्तब्यहरु भएर पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको डहरेमा नगरले पर्यटन भित्राउने अभियान स्बरुप होमस्टे सञ्चालनमा ल्याएको हो ’ उनले भने ‘यसलाई ब्यबस्थापन गरेपछि अन्य बस्तीमा पनि बिस्तार गर्ने योजनामा छौ’ ।

मगर समुदायको बाक्लो बस्तीको बाहुल्यता रहेको होमस्टेमा मगर संस्कृति, कला, रहनशहन र रितिरिवाजको अबलोकन पाहुनाले गर्न पाउनेछन् । २ हजार २ सय ५९ मिटर उचाईमा रहेको डहरेको लेकको प्राकृतिक भ्युटावर, गुफा र मन्दिर अबलोकन तथा त्यहाबाट देखिने आठ जिल्लाको मनोरम दृष्यलाई हेर्न सकिन्छ । त्यसैगरी पञ्चासे, कास्कीको फेवाताल र आर्कषक हिमशृखलाको पनि अबलोकन गर्न सकिन्छ । आर्कषक पर्यटकिय क्षेहरु भएर पनि प्रचार प्रसार गर्न नसकेको नगरपालिकाले पोखरा, स्याङजा र पर्बतबाट पर्यटक आकर्षित गराउने योजना समेत बनाएको छ ।