व्यापार युद्धले चिनियाँ कम्पनीहरू धराशयी हुने आशंका


बेइजिङ, (एजेन्सी)
अमेरका र चीनबीचको व्यापार युद्ध शुरू भएपछि चाँडै यसको गम्भीर परिणाम देखिन सक्ने अनुमान गरिएको छ।

चिनियाँ सरकारका एक वरिष्ठ अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारमा अवलम्बन गरिएको कडा नीतिले कयौं चिनियाँ कम्पनी धराशयी बन्न सक्ने आशंका व्यक्त गरेका छन्। यसलाई बचाउन तत्काल कदम चाल्नुपर्ने उनले बताए।
‘व्यापार युद्ध कसरी अगाडि बढ्छ र कुन हदसम्म जान सक्छ भन्ने अनुमान गर्न अत्यन्त कठिन छ। तर एउटा कुरा के पक्का छ भने चिनियाँ सामानको आयातमा अमेरिका ६० अर्ब डलर, २ खर्ब वा ५ खर्ब डलर आदेशका भरमा भन्सार लगाउँछ भने कयौं चिनियाँ कम्पनीहरु टाट पल्टिनेछ।’ –सर्वोच्च जन अदालतका सल्लाहकार समितिका उपनिर्देशक डु वानहुआले बताए।

ट्रम्पले ३४ अर्ब डलर मूल्यको चिनियाँ निर्यातमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाएको छ। २ सय अर्ब डलरको निर्यातमा १० प्रतिशत शुल्क बढाउन सकिने धम्की पनि उनले दिएका छन्।

वासिङ्टनले यस प्रकारको कदम चीनसँगको व्यापारमा घाटा कम गर्न लिइरहेको दाबी गरेको छ। चीनले पनि केही जवाफी कदम उठाएका छन्। तर कयौं चिनियाँ विशेषज्ञ यस आधिकारिक प्रतिक्रियाप्रति खुसी छैनन्। किनभने यसले व्यापार युद्धलाई मात्र अगाडि बढाउने उनीहरुको तर्क छ।

न्यायपालिका यसअघि कहिल्यै नभएको व्यवसायीहरु धराशयी हुनेसँग जोडिएका मामिला र जटिल मुद्दाको सामना गर्न तयार हुनुपर्ने डुले बताए। उनले भने– ‘तयार रहनुले सफलता सुनिश्चित हुनेछ। बिनातयारी असफलता नै हात पर्ने हुन्छ। हाम्रा अदालतहरुले छिटोभन्दा छिटो यस्ता सम्भावित चिनियाँ कर्पोरेट बैकरप्सीलाई हेर्नु आवश्यक छ।

सर्वोच्च अदालतसँग सम्बद्ध कम्युनिस्ट पार्टीका अधिकारीका तर्फबाट यो कडा प्रतिक्रिया पिपल्स डेलीमा प्रकाशित एक लेखमा उल्लेख गरिएको हो। उक्त लेखमा उद्योग तथा सूचना प्रविधि मन्त्रालयका एक प्रवक्ता हुआंग लिबिनले औद्योगिक उत्पादनमा कुनै ठूलो असर अहिले हेर्न बाँकी नै रहेको बताएका थिए। उनले भने– ‘अमेरिकी ग्राहकले अर्डर तथा डेलिभरी रोकेको चिनियाँ कम्पनीहरुको गुनासो हामीले सुनिरहेका छौं। तर अहिलेसम्म यसको आद्योगिक क्षेत्रमा सीमित असर नै परेको छ।’