चिरञ्जीवी मास्के, दोलखा,
दोलखाको बिगु गाउँपालिकाले बुहारीहरूलाई गाउँमै बस्ने वातावरण बनाउन विशेष अभियान शुरू गरेको छ। गाउँपालिकाका अधिकांश युवाहरू विदेश गएको र बुहारीहरू छोराछोरी पढाउन कि राजधानी कि सदरमुकाम चरिकोट बस्न थालेपछि विकास निर्माणको काममै समस्या आएको भन्दै गाउँपालिकाले बुहारीहरूलाई गाउँमै बस्ने वातावरण बनाउन विशेष अभियान शुरू गरेको हो। ‘गाउँपालिकाका युवाहरू अधिकांश विदेश बस्ने र बुहारीहरू छोराछोरी पढाउन सदरमुकाम चरिकोट र काठमाडौं बस्न थालेपछि गाउँमा खेती किसानीको काम र विकास निर्माणका गतिविधि ठप्प भए। त्यसपछि आर्थिक वर्ष २०७५/२०७६ मा शिक्षालाई विशेष प्राथामिकता दिँदै बुहारीलाई गाउँमै बस्ने वातावरण निर्माणका लागि विशेष अभियान शुरू गरेका छौं।’ –गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले भन्नुभयो।
गाउँपालिकाका बुहारीहरू छोराछोरी पढाउनकै लागि बाहिर बस्ने भएकाले शिक्षालाई विशेष प्राथामिकता दिइएको गाउँपालिका प्रमुख खड्काको भनाइ छ। गाउँपालिकाको प्रारम्भिक आँकडाअनुसार झन्डै २० देखि ३० प्रतिशत युवा रोजगारीका लागि देशको विभिन्न भाग तथा विदेशमा रोजगारीका लागि गएका छन्।
बिगु गाउँपालिकाले आर्थिक वर्ष २०७५÷२०७६ मा शिक्षा क्षेत्रको सुधारका लागि ५० लाख रुपियाँ विनियोजन गरेको छ। गाउँपालिकाले अब गाउँपालिकाभित्रका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापनको व्यवस्था गर्ने र आवश्यकताअनुसार शिक्षक नियुक्ति गर्ने प्रक्रियासमेत शुरू गरेको छ।
बिगु गाउँपालिकाभित्र ९ वटा माध्यमिक विद्यालय, ३ वटा निम्न माध्यमिक विद्यालय र २५ वटा प्राथमिक विद्यालय रहेका छन्। गाउँपालिकाभित्र रहेको सबै विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन शुरू गर्ने र विद्यालयको अनुपातमा शिक्षक कोटा नभएकाले त्यसको व्यवस्थापनका लागि गाउँपालिकाले योजना निर्माण तथा कार्यान्वयनका लागि नयाँ आर्थिक वर्षबाट काम शुरू गर्ने गाउँपालिकाका प्रमुख खड्का बताउनुहुन्छ। गाउँपालिकाभित्र नै गुणस्तरीय शिक्षा दिन सक्ने विद्यालय सञ्चालन भयो भने छोराछोरी पढाउनकै लागि बुहारीहरू पालिकाबाहिर जानुपर्ने बाध्यता हट्ने खड्काको विश्वास छ।
बुहारीहरूलाई गाउँपालिकाभित्र फर्काउन नयाँ आर्थिक वर्षबाट सीपमूलक तालिम सञ्चालन गर्ने, पशुपालन तथा जडिबुटी खेतीलाई प्रोत्साहित गर्न अनुदानको व्यवस्था गर्ने कार्यक्रमसमेत शुरू गरिने गाउँपालिका प्रमुख खड्काले बताउनुभयो।











प्रतिक्रिया