कृष्ण आचार्य, चितवन
चितवनको चुम्लिङटारनजिकै एउटा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। काठमाडौंबाट पोखरा जाँदै गरेको ना६ख २५०६ नम्बरको बस इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा परी पाल्पा बेगनासकालिका गाउँपालिकाका अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिका ५ का सुमित श्रेष्ठ, तनहुँ भन्सारकी कमला श्रेष्ठ, काठमाडौंका रवीन गुरुङ र तनहुँ केशवटारका बाबुराम तिवारीको मृत्यु भएको छ। एक बालक, एक पुरुष र एक महिलाको सनाखत हुन सकेको छैन। सडक छेउमा रहेको ना५ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशूली नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
घाइतेमध्ये ७ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ४ जनाको मनकामना अस्पताल भरतपुर, ५ जनाको पोखरा र १ जनाको मलेखुमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिनुभयो।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने ट्रक चालकलाई जोगीमारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बस सडकबाट १ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो। घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए।











प्रतिक्रिया