रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसले सरकारविरुद्ध आयोजना गर्ने देशव्यापी विरोध कार्यक्रमलाई प्रभावकारी बनाउन आन्तरिक तयारीलाई तीव्रता दिएको छ। पूर्वघोषित कार्यक्रमअनुसार कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने भएको छ।
देशव्यापी विरोध प्रदर्शनका लागि कांग्रेसले सबै जिल्ला समितिलाई परिचालन गरिसकेको छ। प्रदर्शनमा पार्टीको सशक्त भ्रातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघलगायत सबै शुभेच्छुक संघसंस्थाबाट प्रतिनिधित्व गराउने गरी तयारी थालेको हो।
तीन दिनपछि हुने कार्यक्रमलाई प्रभावकारी बनाउन दुई दिनअघि पार्टी कार्यालयमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पार्टी पदाधिकारीसहित उपत्यकाका तीन जिल्लाका सभापति तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका नेतृत्वको विशेष बैठकसमेत बसेको थियो।
डा. गोविन्द केसीको मागलाई सरकारले सम्बोधन गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने जनाएको छ। कांग्रेसले सरकारविरुद्धको आन्दोलनमा पार्टी पंक्ति तथा भ्रातृ एवं शुभेच्छुक संस्था एकताबद्ध ढंगले लाग्ने निर्णय गरेको छ।
सरकारले बीपी मेमोरियल अस्पतालको जग्गा अन्य संस्थालाई दिने तयारी गरेको भन्दै नेपाली कांग्रेसले यसको पनि विरोध गरेको छ।हाल ३ सय शøया रहेको सो अस्पतालको ७५ बिगाह जमिनमा निकट भविष्यमै १ हजार शøयाको अस्पताल बनाई क्यान्सर एकेडमी एन्ड रिसर्च सेन्टरमा परिणत गर्न खोजिएको भन्दै यसका लागि भइरहेको जमिन अपुग भई नवलपरासीमा थप करिब २० बिगाहा जमिन भोगचलन गरिरहेको कांग्रेसले जनाएको छ।
अस्पताललाई नै जग्गा अपुग भइरहेको अवस्थामा उल्टै त्यहाँको जग्गा हडप्न सरकारले सहयोग गर्ने निर्णय गरेको भन्दै कांग्रेसले सरकारलाई खबरदारीसमेत गरेको छ। नेपाल र छिमेकी मुलुक भारतबाट उपचार गराउन आउने सयौं बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई सबै किसिमका पूर्वाधार बनाई सुविधा सम्पन्न र अत्याधुनिक अस्पताल बनाउन आग्रह गरेको छ। कांग्रेसले अस्पतालले भोगचलन गर्दै आएको जग्गा दायाँबायाँ नगर्न आग्रह गरेको छ। डा. केसी र सरकारबीच भएको सहमतिलाई नेपाली भने कांग्रेसले स्वागत गरेको छ। डा. केसीको मागका बारेमा अब कांग्रेसले सहमतिको स्वामित्व मन्त्रिपरिषद् बैठक बसेर लिन आग्रह गरेको छ।
समसामयिक राजनीतिको बारेमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा, चर्को मूल्यवृद्धि, उपकुलपतिप्रति अपमानजनक व्यवहारलगायतको अन्य मुद्दा केन्द्रित साउन १५ को ७७ जिल्ला सदरमुकाममा हुने एक दिने विरोध प्रदर्शनको कार्यक्रम प्रभावकारी बनाउन स्थानीय पार्टी पंक्ति सक्रियतापूर्वक लागेको बताउनुभएको थियो।
डा. केसी र सरकारबीच भएको सहमती कार्यान्वयनका लागि ढिलाइ नगर्न सरकारलाई खबरदारी गरिने उहाँले बताउनुभयो।











प्रतिक्रिया