सुर्खेत ।
पातारासी गाउँपालिका–५ ल्होर्पा गाउँ जुम्लाका २८ वर्षीय डम्बरसिंह बुढा पहिरोमा परी बेपत्ता भएका छन् ।
जुम्ला सदरमुकामदेखि करीब १२ किलोमिटर दूरीमा रहेको ल्होर्पा गाउँ नजिकैको जंगलमा गएको पहिरोमा उनी परेका हुन् । जुम्ला बजारदेखि घर जाने क्रममा बिहीबार बेलुका ७ः०० बजे बुढा पहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो । सोही पहिरो परेका दुई जना स्थानीय भेषबहादुर बुढा र खड्गबहादुर बुढा सामान्य घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।
उहाँका अनुसार दुवैको स्थानीय स्वास्थ्य चौकी डिल्लीचौरमा उपचार भइरहेको छ । पहिरोमा परेका डम्बरसिंहको घडी तिलानदी बगरमा भेटिएकाले नदीले बगाएको हुनसक्ने उहाँले बताउनुभयो ।
आज बिहानदेखि बेपत्ता बुढाको खोजीका लागि नदी किनारामा नेपाल प्रहरीको १३, सशस्त्र प्रहरी १४ जना र स्थानीय प्रहरी चौकीको जनशक्ति परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
यसैबीच प्रहरीका अनुसार एक दिनअघिमात्र जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ३ भण्डारीगाउँमा आगलागी हुँदा तीन वर्षीय बालिका कृष्मा कुमाईको जलेर मृत्यु भएको थियो । उक्त घटनामा घरधनी कर्णप्रसाद कुमाईको दुई तलाको छ कोठे घर आगलागीबाट नष्ट हुँदा रु २३ लाख बराबर क्षति भएको जनाइएको छ ।
रासस
प्रतिक्रिया