ललितपुर ।
राष्ट्रिय मानव अधिकार आयोगले किसानका हकहितको प्रतिकूल रहेका कानूनहरुको पुनरावलोकन गर्न नेपाल सरकारलाई सिफारिश गरेको छ ।
आयोगले ‘किसानको अधिकारसम्बन्धी कानून पुनरावलोकन अध्ययन प्रतिवेदन’ का आधारमा आयोगले भएका कानूनको पुनरावलोकनसँगै प्रभावकारी कार्यान्वयमा जोड दिएको हो । राष्ट्रिय किसान आयोगको दायरा फराकिलो बनाउन र सबै तहका सरकारलाई जिम्मेवार बनाउन पनि आयोगले सरकारलाई सिफारिश गरेको छ ।
कृषिमन्त्री चक्रपाणि खनालले आफूले योजनाबद्धरुपमा किसानका समस्या समाधानको योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आक्रामक शैलीमा नभएर योजनबद्धरुपमा समस्या हल गर्न लागिएको छ ।” नेपालमा किसानका धेरै खालका समस्याबाट पीडित भएको उहाँले औँल्याउनुभयो । मन्त्रालयले किसानका समस्या समाधानका कतिपय काम शुरु गरिसकेको उहाँले बताउनुभयो ।
राष्ट्रिय किसान आयोगका सदस्य रवीन्द्र केसीले किसानको हकहितमा कार्यरत संस्थाले सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले राष्ट्रिय मानव अधिकार आयोगले किसान र उपभोक्ताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा औँल्याउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका कानून महाशाखा प्रमुख श्यामबाबु काफ्लेले संविधानले नै किसानको हकहित संरक्षण गरेर कृषि क्षेत्रको विकासमार्फत उपभोक्ताको खाद्य अधिकार सुनिश्चित गर्न सकिनेमा जोड दिएको प्रष्ट पार्नुभयो ।
रासस
प्रतिक्रिया