कपिलवस्तुबाट १ सय ९३ मुस्लिम हजयात्रामा जाँदै


सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुबाट यसवर्ष १सय ९३ जना मुस्लिम हजयात्रामा जाने तयारीमा जुटेका छन् । यही अगस्त ५ र ६ तारीख अर्थात साउन २० र २१ गतेका दिन हुने उडानका लागि उनीहरु तयारीमा जुटेका हुन् । अगस्त ५ मा कपिलवस्तुका मात्र १५० जनाको उडान हुने समय तालिका तोकिएको छ । भने ६ तारीखका दिन १४९ जनाको टोलीमा कपिलवस्तुका ४३ जना, सप्तरीका ५९ र बाराका ४७ जना उड्नेछन् ।
यसवर्ष नेपालबाट १हजार १सय ३९ जना मुस्लिम साउदी अरबको मक्का र मदिनाको हजयात्रामा जाँदैछन् । सबैलाई उडानका लागि अगस्त १ देखि ७ तारीखसम्मको उडान तालिका तोकिएको छ ।

यसैबीच अगस्त १ तारीख अर्थात साउन १६ गतेका दिन अर्घाखाँचीको टोलीसँगै हजयात्रामा उडानका लागि चन्द्रौटा उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष जमशेर अलि मियासहित ५ जनाको टोलीलाई चन्द्रौटामा विदाई गरिएको छ ।

विदाईपछि उनीहरु शुक्रबार नै चन्द्रौटाबाट विदा भई हजयात्राका लागि काठमाडौं प्रस्थान गरेका छन् । विदाई कार्यक्रममा परिवारका सदस्य, ईस्टमित्र तथा छरछिमेकीहरुको बाक्लो उपस्थिति रहेको थियो । हजयात्रामा जाने हजयात्रीलाई परिवारका सदस्य र ईस्टमित्रले दोसल्ला ओढाएर अंकमाल गरी बिदाई गरेका थिए । हजयात्रामा जाने टोलीमा जमशेर अलि मिया, मियाकी धर्मपत्नी मजबीरन बेगम, बसीर मिया, लैलाल बेगम र कैली बेगम रहेका छन् । अगस्त १ का दिन उडान हुने १५१ जनाको टोलीमा उनीहरु अर्घाखाँचीको ८ जनाको टोलीमा परेका हुन् ।

हज समितिको अनुसार अगस्त १ तारीखका दिन १५१ जनाको उडान हुनेछ । यस्तै २ तारीखमा १४९ जना, ३ तारीख १५० जना उड्ने समितिको तालिकामा उल्लेख छ । अगस्त ४ तारीखका दिन १४९ र १५० गरी दुई लटमा उडान हुने बताइएको छ । जसमा एकै दिन १९९ जना उड्नेछन् भने ५ तारीखका दिन १५० जना, ६ तारीखमा १४९ जना र ७ तारीखका दिन ९१ जनाको उडान हुने उडान तालिकामा जनाइएको छ ।

मक्का र मदिनाको यात्रा गर्दा स्वर्ग जाने सरह पुण्य प्राप्ति हुने साथै आफूले जानेर वा नजानेर गरेका गल्तीको माफी पाउने विश्वास मुस्लिम समुदायमा रहेको मदरसा संघका केन्द्रिय महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ ले जानकारी दिनुभएको छ ।