ट्याक्सी चालकलाई लुट्ने ३ जना पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंको बुढानिलकण्ठ–७, चपली हाइटमा चक्कु देखाएर ट्याक्सी चालकलाई लुट्ने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी रानीपौवाका १८ वर्षीय कबिन परियार, टोखा–३, ग्रिनल्याण्डका २३ वर्षीय राहुल शिल्पकार र झापा लक्ष्मीपुरका २५ वर्षीय बिराज ढकाल रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठको टोलीले पक्राउ गरेको हो । यसअघि गएराति ११ बजे बा २ ज २७१३ र बा २ ज ३६६९ नम्वरको ट्याक्सीमा यात्रु बनेर चढेका उनीहरुले चपलीहाइटमा चक्कु देखाएर लुटपाट गरेका थिए ।

प्रहरीका अनुसार चालकको साथबाट उनिहरुले मोबाइल र नगद पनि लुटेका थिए । लुटपाटपछि भागेका मध्ये परियार र शिल्पकार तत्कालै पक्राउ परेका थिए भने फरार ढकाल शुक्रबार बिहान धापासीबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुुसार उनीहरुको साथबाट ५ हजार ६ सय रुपैयाँ नगदसहित ६ वटा मोबाइल, एउटा औंठी, खुकुरी, हाते बञ्चरो, चक्कु लगायतका सामाग्री बरामद भएको छ ।