यौनकर्मीको आरोपमा पक्राउ परेकी महिलाले वच्चा जन्माइन्


नेपाल समाचारपत्र, भद्रपुर ।
यौनकर्मीको आरोपमा पक्राउ परी कारागारमा कैद भूत्तान गरिरहेकी एक महिलाले वच्चा जन्माएकी छन् । सार्वजनिक अपराध ऐन अन्तरगत चार महिनादेखि झापा कारागारमा कैद भूत्तान गरिरहेकी महिलाले तीनदिन अघि मेची अंचल अस्पताल भद्रपुरमा छोरी जन्माएको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनको सहयोगमा अस्पतालमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी थिइन् । महिला सुत्केरी भएपछि आफन्तहरुको खोजी गरिएपनि कोही सम्पर्कमा नआएको कारागारका जेलर यज्ञराज निरौलाले बताए । महिलाका आफन्तहरुसँग सम्पर्क गर्न नसकिएका कारण उनलाई थुना मुक्त गर्न नसकिएको उनले बताए । आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै मानवीय हिसावले पनि तत्काल थुना मुक्त गर्न नसकिएको बताए । गुरुङ थरकी २० वर्षीया अविवाहित महिला ४ महिना अघि गर्भवती अवस्थामै थुना परेकी थिइन् । गरिवीका कारण उनी विगत केही वर्षदेखि विर्तामोडको होटलमा यौनकर्मीको रुपमा कार्यरत रहेको बताइन् । कुन वेला कसको गर्भ वस्यो थाहा नपाएको उनले भनिन् । आफन्तहरु कोही नभएका कारण थुनाबाट वाहिर जादा आफ्नो र शिशुको समेत जिविकोपार्जनमा समस्या पर्ने उनले सुनाइन् ।
दुई वर्ष अघि दक्षिण झापाको एउटा गाउ“वाट कामको खोजीमा विर्तामोड आएकी उनले पहिला होटलमा भाडा माझ्ने काम गरेकी थिइन् । पछि होटल साहुले यौन व्यवसायमा प्रयोग गराएका थिए । इलाका प्रहरी कार्यालय विर्तामोड नजिकै एउटा होटलवाट रंगेहात पक्राउ परेपछि प्रहरीले उनलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा दायर गरेको थियो । अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालय झापामा ५ हजार रुपैया धरौटी रकम वुझाउन नसकेका कारण गत चैत २७ गते पुर्पक्षका लागि कारागार चलान भएकी थिइन् ।