बुहारी फर्काउन विशेष अभियान


चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको विगु गाँउपालिकाले बुहारीहरुलाई गाँउमै बस्ने वातावरण बनाउन शिक्षा क्षेत्रलाई विशेष प्राथामीकता दिदै विशेष अभियान सुरु गरेको छ । गाँउपालिकाको अधिकांश युवाहरु विदेश गएको र बुहारीहरु छोराछोरी पढाउन कि राजधानि कि सदरमुकाम चरिकोट बस्ने भएपछि विकास निर्माणको काममै समस्या भएकोले गाँउपालिकाले बुहारीहरुलाई गाँउमै बस्ने वातावरण बनाउन विशेष अभियान सुरु गरेको हो ।
गाँउपालिकाको युवाहरु अधिकांश विदेश बस्ने र बुहारीहरु छोराछोरी पढाउन सदरमुकाम चरिकोट र काठमाडौँ बस्ने भएपछि गाँउमा न खेति किसानीको काम हुन सक्यो, न विकास निर्माणका गतिविधिनै अगाडि बढ्न सक्यो त्यसैले आर्थिक बर्ष ०७५÷०७६ मा शिक्षालाई विशेष प्राथामीकता दिदै बुहारीलाई गाँउमै बस्ने वातावरण निर्माणको लागि विशेष अभियान सुरु गरेका छौ – गाँउपालिका प्रमुख युधिष्ठीर खड्काले भने । गाँउपालिकाका बुहारीहरु छोराछोरी पढाउनकै लागि बाहिर बस्ने भएकोले शिक्षालाई विशेष प्राथामीकता दिईएको गाँउपालिका प्रमुख खड्काको भनाई छ । गाँउपालिकाको प्रारम्भीक आँकडा अनुसार झण्डै २० देखि ३० प्रतिशत युवा रोजगारीको लागि देशको बिभिन्न भाग तथा विदेशमा रोजगारीको लागि गएका छन् ।
विगु गाँउपालिकाले आर्थिक बर्ष ०७५÷०७६ मा शिक्षा क्षेत्रको सुधारको लागि ५० लाख रुपैया विनियोजन गरेको छ । गाँउपालिकाले अब गााउपालिका भित्रका सबै विद्यालयमा अंग्रेजी माधयमबाट अध्यापनको व्यवस्था गर्ने र आवश्यकता अनुसार शिक्षक नियुक्ती गर्ने प्रकृया समेत सुरु गरेको छ ।
विगु गाँउपालिका भित्र ९ वटा माध्यामीक विद्यालय, ३ वटा निम्न माध्यामीक विद्यालय र २५ वटा प्राथामीक विद्यालय रहेको छ । गाँउपालिका भित्र रहेको सबै विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने र विद्यालयको अनुपातमा शिक्षक कोटा नभएकोले त्यसको व्यवस्थापनको लागि गाँउपालिकाले योजना निर्माण तथा कार्यान्वयनको लागि नयाँ आर्थिक बर्षबाट काम सुरु गर्ने गाँउपालिका प्रमुख खड्का बताउछन् । गाँउपालिका भित्रै नै गुणस्तरीय शिक्षा दिन सक्ने विद्यालय सञ्चालन भयो भने छोराछोरी बढाउनकै लागि बुहारीहरु पालिका बाहिर जानुपर्ने बाध्यता हट्ने खड्काको विश्वास छ ।
बुहारीहरुलाई गाँउपालिका भित्र फर्काउन नयाँ आर्थिक बर्षबाट सीप मुलक तालिम सञ्चालन गर्ने, पशुपालन तथा जडिबुटी खेतीलाई प्रोत्साहित गर्न अनुदानको व्यवस्था गर्ने कार्यक्रम समेत सुरु गर्ने गाँउपालिका प्रमुख युधिष्ठीर खड्काले बताए । गाँउपालिकाले शिक्षासंगै स्वास्थ्य क्षेत्रको सुधारको लागि पनि विशेष योजना साथ काम गरिरहेको प्रमुख खड्काले बताए । विगु गाँउपालिकाले शिक्षा, स्वास्थ्य, सामान्य रोजगारीको लागि कुनै पनि युवा तथा गाँउपालिकाका नागरिक सकेसम्म अन्यत्र जान नपर्ने अवस्था बनाउन सबै क्षेत्रलाई गुणस्तरीय बनाउने र सबैलाई रोजगार बनाउन सीप मुलक तालिम तथा व्यवसाय सञ्चालनको लागि प्रोत्साहित गर्ने प्रमुख खड्काले बताए ।