यमलाल भुसाल, बुटवल ।
सवारी साधन चलाउनेले ख्याल गर्नु होला , कतै तपाईले राजमार्गमा सवारी साधन पाकिङगर्नु भएको त छैन छ भने तपाईको सवारी साधनमा प्रहरीले सिक्री सहितको चावी लगाउन सक्छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले ट्राफिक नियम विपरित हाईवेमा सवारी साधन रोक्न नदिने अभियान सुरु गरेको छ ।
हाईवेमा हुने अव्यबस्थित पार्किङ्ले सवारी आवागमनमा समस्या पारेको भन्दै सवारी आवागमनलाई सहज बनाउन हाईवेमा नो पार्किङ अभियान सुरु गरिएको हो । अव हाईवेमा सवारी साधन रोके/पार्किङ् गरे सवारी साधनमा ह्वील लक गरि कारवाही गरिने पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताउनु भयो ।
ट्राफिक व्यबस्थापनका लागि प्रहरीले दुई चरणमा सवारी व्यबस्थापन अभियान सञ्चालनको तयारी गरेको छ ।
पहिलो चरणमा शहरी क्षेत्रमा तत्कालदेखि लागुहुने गरी ह्वील लक र शहरी एरियामा हेभी सवारी साधन प्रवेश निषेधलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ भने पार्किङ् स्थलबाहेक सवारी साधन पार्किङ् गर्न नदिने अभियान सुरु भएको कार्यालयका प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी गराउनु भयो ।
त्यस्तै दोस्रो चरणमा दोस्रो हप्तादेखि मुख्य सडकमा यातायात व्यबस्थापन अभियान सञ्चालन गर्ने प्रहरीको तयारी छ ।
त्यस्तै सवारी साधनको निर्धाण गरिएको गति कायम गराउन पनि प्रहरीले जोड दिएको छ । प्रहरीले शहरी क्षेत्रमा हेभी सवारी साधन जस्तै टिप्पर, ट्रकलाई २० किलोमिटर प्रतिघण्टा तथा साना सवारी साधनलाई ३० किलो मिटर प्रतिघण्टाको गती निर्धारण गरेको छ । सोही अनुसार सवारी साधनको गति कायम राखेर सञ्चालन गर्न पनि सवारी चालकलाई प्रहरी आग्रह गरेको छ ।











प्रतिक्रिया