मिस लिटिल आइडल हुँदै

0
Shares

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्ट प्रालिको संयुक्त आयोजनामा हुने मिस लिटिल आइडल–२०१८ को खोजी शुरू भएको छ। विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरूमा निहित क्षमता अभिवृद्धिका साथै गुणस्तरीय अध्ययन र सिर्जनात्मक काममा प्रेरित गर्न प्रतियोगिता आयोजना गरिँदै आएको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा आयोजकले जनाए।

प्रतियोगितामा सहभागी विद्यार्थीको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, लुकेको प्रतिभा प्रस्फुटन एवं अतिरिक्त क्रियाकलापमा सुधारलगायत धेरै कुरामा प्रभावकारी देखिएकाले मिस लिटिल आइडल प्रतियोगितालाई निरन्तरता दिइएको प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए। प्रतियोगितामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत देशभरका ८ देखि १३ वर्ष उमेर समूहका बालिका सहभागी हुन सक्ने छन्।

प्रतियोगिताका शीर्ष उपाधि विजेतालाई नगद पुरस्कार एवं ताजसहित सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा १ वर्षको छात्रवृत्ति, फस्ट र सेकेन्ड रनर्सअपलाई नगद पुरस्कार एवं ताजसहित मासिक शुल्कमा एक वर्षको ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंकी सहसचिव एवं मिस लिटिल आइडल २०१८ की संयोजक रीता राई (दाहाल) ले प्रतियोगिता उपलब्धिमूलक एवं सहभागीमा सकारात्मक परिवर्तन देखिएको बताइन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भदौ १६ गते राजधानीमा हुनेछ।