रानीमहल स्थानीय निकायलाई

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । नेपालको ताजमहलको नाममा चिनिएको पाल्पाको रानीमहल स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । मर्मत संहार, रेखदेख र संरक्षण गर्नेगरी बिहीबार तानसेन नगरपालिकालाई उक्त महल १० वर्षका लागि हस्तान्तरण गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र नगरपालिकाका प्रमुख अशोककुमार शाहीबिच भएको सो समझदारी पत्रमा रानीमहलको संरक्षण र सम्बद्र्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने समझदारी भएको छ ।

पाल्पाको तानसेन नगरपालिकाको बौवागुम्बामा रहेको उक्त महलको सम्पुर्ण व्यवस्थापन अब स्थानीय सरकारले गर्नुपर्नेछ । भोगाधिकार मात्र पाएको उक्त नगरपालिकाले सरकारका पाच शर्त पालना गर्नुपर्नेछ । प्रथम पक्ष (सरकार)को सहमति विना दोस्रो पक्ष (तानसेन) नगरपालिकाले रानीमहलको स्वरुप परिवर्तन गर्न वा भत्काउन पाउने छैन ।

सम्झौतामा दोस्रो पक्षले कुनै संरचना बनाउनुपरे अहिलेको संरचनालाई असर नपर्ने गरी लैजान मिल्ने सामग्री मात्र प्रयोग गर्न पाउने, निर्माण गर्न प्रथम पक्षसंग सहमति लिनुपर्ने, महलको रङरोगन र मर्मत सम्हार गर्नुपर्ने तथा उक्त महल मर्मत गर्दा त्यसको निरीक्षण प्रथम पक्षले गर्ने उल्लेख छ ।

पाल्पाका राजा खड्ग शम्सेरले विक्रम सम्बत १९५४ मा आफ्नी दिवंगत रानी तेज कुमारीको सम्झनामा उक्त महल बनाएका थिए । तानसेनदेखि १४ किलोमिटर उत्तरमा रहेको कालीनदीको तिरमा विसाल चट्टानमाथि अवस्थित उक्त रानीमहलको डिजाइन बेलायती इन्जिनियरले गरेका थिए ।

५ वर्ष लगाएर निर्माण गरिएको सो महलले ११ रोपनी क्षेत्रफल ओगटेको छ । महल परिसरमा बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टसहितको आकर्षक कलाकृति देख्न सकिन्छ । पुरातत्व विभागले गत वर्ष २ करोड ७० लाख लागतमा त्यसको जिर्णोद्वार गरेको थियो ।