कालीगण्डकीमा पानीको बहाब बढ्यो, सर्तक रहन प्रशासनको आग्रह

0
Shares

नेपाल समाचारपत्र, पर्वत
म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने पवित्र कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ। कालीगण्डकीको मुहान रहेको मुस्ताङको तल्लो भागदेखि म्याग्दीको उत्तरी क्षेत्रमा बर्षा भएका कारण पानीको बहाव ह्वात्तै बढेको हो।

वर्षाले बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरू चिन्तित भएका छन्। कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका क्षेत्रमा दाउरा संकलन गर्न जानेहरूलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेका छन्।

नदीमा पानीको बहाव बढेसँगै साविकको धौलागिरी अञ्चलको मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्रमा उच्च जोखिम हुने गरेको छ। त्यसमा पनि सबैभन्दा बढी जोखीम कालीगण्डकी नदीको किनारमै रहेको म्याग्दीको पारी बेनी र पर्वतको वारी बेनी तथा पर्वत र बागलुङको सिमाना मालढुंगामा रहेको माझी बस्तीसहित बजार बढी जोखिममा छन्।

तटीय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई प्रहरीले सचेत बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए। जोखिमपूर्ण तरिकाले दाउरा संकलन गर्नेलाई समेत निरुत्साहित गर्न प्रहरीले ध्यान दिइरहेको उनको भनाइ छ। बेनीबजार र पर्वत बेनीमा संरक्षणका लागि बनाइएको तटबन्धले तटीय क्षेत्रका बासिन्दालाई केही राहत भने मिलेको छ।