सेरागाडमा निर्माणाधिन पुल भत्किँदा एक करोड बढि क्षती


राम धामी, डडेल्धुरा ।
डडेल्धुरा जिल्लाको भागेश्वर गाँउपालिका–४ डुङ्गरीदेखि अजयमेरु गाँउपालिकाको देवल दिव्यपुर जोडने सडक खण्डको सेरागाडमा निर्माणाधिन पक्की मोटरेवल सडक पुल भत्किँएको छ ।
भारी बर्षादका बेला चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुकी देखिको अविरल बर्षाका कारण भत्किँएको हो । डिभिजन सडक कार्यालय कुलपाते, दिपायलद्वारा निर्माण भईरहेको सो पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा.ली.सँग ठेक्का सम्झौता भएको थियो ।
भ्याटसहित कुल ५ करोड एक लाख रुपैयामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई बर्षको समयावधि तोकिएको थियो । २०७४ साल भदौ २४ गते ठेक्का अवधी सकिए पछि २०७५ भदौ ९ गते सम्म काम सक्नेगरि म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।
बर्षातको समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीका कारण निर्माणाधिन पुल भत्किँएको डिभिजन सडक कार्यालय डोटीका इन्जिनियर महानन्द जोशीले बताए । देशभरिमै ख्याती प्राप्त निर्माण कम्पनी भएकाले केहि क्षति भएपनि पुल निर्माणमा बाधा नपुग्ने उनले दाबी गरे ।
बिकोई बिल्र्डस प्रा.ली. का सञ्चालक होमनाथ कोइराला सडक विभागकै पुर्व इन्जीनियर हुन । “सानोेतिनो पानी परिरहेकाले क्षति नपुग्ने अनुमान गरेर काम गरिरहेका थियौ,” निर्माण कम्पनीका साईड इन्चार्ज इन्जिीनियर तिर्थ गुरुङले भने, “एक्कासी ठुलो पानी परेपछि बाढीका कारण निर्माणाधिन पुल भत्किँएको हो ।”
“गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी बर्षातको बेला खोलामा ढलान गर्ने र गराउने काम भएकाले चरम लापरवाहीका कारण पुल भत्किँएको अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले बताए ।
निर्माण सामग्रीको गुणस्तरको बारेमा आफुले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताउदै उनले निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताए । निर्माण कम्पनीले भने झण्डै एक करोड बराबर क्षति भए पनि अगामी मंसिर सम्म पुल निर्माण कार्य सक्नेगरि पुलको पुर्ननिर्माण गरिने जनाएको छ । निर्माणाधिन पुलको क्षतिको विवरण भने तयार भएको छैन ।
४० मिटर लम्बाई र ११ मिटर चौडा सो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । पुलको अभावमा बर्षायाममा यातायात सेवा अवरुद्ध हुने र खोलामा आउने बाढीका कारण बर्षेनी जनधनको क्षति हुने गरेको स्थानीय अगुवा तारक खडका बताउछन ।