झापामा हात्तीको दाह्रा बरामद


भद्रपुर ।
बेवारिसे अवस्थामा मरेको हात्तीको भित्री भागको एउटा दाह्रा बरामद गरिएको छ । झापा बुद्धशान्ति ५ मा रहेको पाँचपोखरी सामुदायिक वनबाट गत सोमबार( साउन ७ गते) दाह्रा बरामद गरिएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
वन क्षेत्रको ब्लक नम्बर ५ को सिमसार आँपे खोल्सीमा अन्दाजी ४०÷४५ वर्षको भाले जातीको हात्ती मरेको अवस्थामा फेला परेको थियो । दुवै तर्फको दाह्रा चोरी भएको र पुच्छरको रौ समेत लगेको पाइएको थियो । हात्तीको अवस्था हेर्दा करिब दुइहप्ता अगाडी मरेको हुनसक्ने वन कर्मचारीले अनुमान लगाएका छन् । पशु सेवा कार्यालय इलामका वरिष्ठ पशु अधिकृतको रोहवरमा पोष्टमार्टमगरी दाहिने तर्फको दाह्रा नभएको र देब्रे भागको भित्री दाह्रा बरामद गरि हात्तीलाई सोही स्थानमा पुरिएको थियो । बरामद दाह्राको एकातर्फ ठुलो प्वाल र काटिएको तर्फ सानो प्वाल रहेको छ । २४ इन्ची लम्बाइ,बीचमा १२ इन्ची गोलाई र बाहिरी काटीएको भागमा साढे ११ इन्चगरी ४ किलो ८ सय ६० ग्राम तौल भएको दाह्रा बरामद गरिएको जिल्ला वन अधिकृत अनीरुद्र प्रसाद शाहले जनाए । बरामद गरिएको दाह्रालाई डि.एन.ए.परिक्षणको लागि केन्द्रीय अनुसन्धान ब्यूरो काठमाण्डौ पठाइएको छ ।
विहीबार जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गिता कुमारी राई, जिल्ला प्रहरीका असई रामशेखर थापा, वन कार्यालयका निमीत्त कार्यालय प्रमुख नथुनी गोहिवार यादव र पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य उत्तम नेपालको प्रतिनिधिको रोहवरमा लाहछाप गरिएको थियो । सामानलाई तत्काल काठमाण्डौ पठाइने वन अधिकृत शाहले बताए । हात्ती मारेर दाह्रा लैजानेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपराधिहरुको संलग्नता हुनसक्ने उनले जनाए । हात्तीको दाह्रा फेला परेको पहिलो पटक भएको वन कार्यालयले जनाएको छ ।