५ नम्बर प्रदेश सभाका ६ वटै संसदीय समितिका सभापति निर्विरोध 



यमलाल भुसाल, बुटवल ।

प्रदेश नम्बर ५को प्रदेशसभाका छ वटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् ।
मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिका सभापति पदका लागि एक एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।

सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा नेकपाकै आशा स्वर्णकार बुधबार निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै मनोनयन दर्तामा एक/एक जनाको मात्रै मनोनयन दर्ता भएपछि प्रदेश मामिला तथा कानून समितिमा नेकपाकै दामाकुमारी शर्मा, सामाजिक विकास समितिमा दीर्घनारायण पाण्डे र कृषि वन तथा वातावरण समितिमा संघीय समाजवादी फोरमका विजयबहादुर यादव निर्विरोध हुनुभएको छ ।

प्रदेशसभाले यसअघि चार समिति रहने व्यवस्था गरेकोमा नियमावली संशोधन गर्दै ६ समिति बनाउने निर्णय गरेको थियो । ६ समितिमध्ये प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र संघीय समाजवादी फोरमले एक एक र नेकपाले चार समितिको सभापति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्