हेटौंडा, (नेस) ।
ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी अनुमतिपत्र नलिएर सञ्चालनमा रहेका सवारीसाधनलाई कारबाही प्रक्रियामा विभेद गर्दै आएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी अनुमतिपत्र, रुट इजाजत नलिई कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने उल्लेख छ । सोही नियम पालना गर्दै मकवानपुर प्रहरीले सोमबार ४० वटा अटो तथा इरिक्सालाई कारबाही गर्यो ।
तर, महिनौंदेखि सवारी रुट इजाजतबिना हेटौंडामा सञ्चालन हुँदै आएका ठूला सवारीलाई भने प्रहरीले कारबाही गरेको छैन । ट्राफिक प्रहरीले कारबाही प्रक्रियामा विभेद गरेपछि हाल बजारमा ट्राफिक प्रहरीको भूमिकाको आलोचना भएको छ ।
सवारीसाधनलाई नियमअनुसार सञ्चालन गराउनुभन्दा कारबाही प्रक्रियामा विभेद गर्दै ट्राफिक प्रहरी अनुचित लाभ लिन सक्रिय रहेको यातायात व्यवसायीको गुनासो छ ।
साना सवारीलाई कारबाही गरेर राजस्व संकलन गर्ने ट्राफिक प्रहरीले रुट इजाजत नलिएको मकवानपुर साझालाई भने कारबाही गरेको छैन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले अनुमति नलिएर सञ्चालन भएका सवारीसाधनलाई कारबाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिइएको बताउनुभएको छ ।











प्रतिक्रिया