बेपत्ता ३ सय ५३ मध्ये ४१ जना बेखबर

0
Shares

हेटौंडा,(नेस) ।
आर्थिक वर्ष २०७४÷०७५ मा महिला र बालबालिका गरी मकवानपुरका ३ सय ५३ जना बेपत्ता भएका छन् । तीमध्ये ३ सय १२ जना फेला परेका छन् । ४१ जना हालसम्म फेला परेका छैनन् । बेपत्ता भएकामध्ये ४१ जनाको अवस्था अज्ञात छ ।

किन यसरी बेपत्ता हुने क्रम बढेको हो भन्ने अनुसन्धान जारी रहे पनि यसको चित्तबुझ्दो जवाफ फेला परेका छैनन् । आर्थिक वर्ष २०७३÷०७४ मा १ सय ८२ जना महिला र ६९ जना बालबालिका हराएका थिए । तीमध्ये ४९ महिला र १८ बालबालिकामात्र फेला परेका थिए । १ सय ८४ जना बेपत्ता भएका थिए ।

आर्थिक वर्ष २०७२÷०७३ मा महिला र बालबालिका गरी १ सय ६३ जना बेपत्ता भएका थिए । तीमध्ये ७८ जना फेला परेका थिए । ८५ जना बेपत्ता भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।

महिला र बालबालिका बेपत्ता हुने क्रम बढिरहे पनि कहाँ लगेर कसले बेपत्ता पार्छन् भन्ने पत्ता लगाउन मुस्किल रहेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढिरहेको छ । भेटिएकाले प्रहरीमा रिपोर्ट नगर्ने र लुकेर बस्ने भएका कारण बेपत्ता हुनेको संख्या बढ्न पुगेको प्रहरीको भनाइ छ ।

तथ्यांक हेर्दा बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ । जब मान्छे हराउँछन्, तत्काल प्रहरीमा खबर गर्छन् । तर, भेटिएको खबर गर्दैनन् । कतिपय मान्छे आफैं लुकेर बसेका हुन्छन् । विशेषगरी महिलामा यस्तो समस्या देखिन्छ । उनीहरु रोजगारीका क्रममा कुनै पेसामा संलग्न हुन्छन् । तर, त्यो पेसा सार्वजनिक गर्न चाहँदैनन् । त्यसबेला उनीहरुले आफ्नो वास्तविक परिचय ढाँट्छन् ।

प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि भएको छ । नेपालमा आव २०७३÷०७४ मा सात हजार २ सय ७८ सर्वसाधारण बेपत्ता भएका थिए । यो संख्या आव २०७२÷०७३ को भन्दा १८.१५ प्रतिशतले धेरै हो ।

आव २०७२÷०७३ मा पाँच हजार ९ सय ५७ बेपत्ता भएका थिए । आव २०७३÷०७४ मा अघिल्लो वर्षभन्दा एक हजार ३ सय २१ बढी बेपत्ता भएका थिए । आव २०७१÷०७२ मा भने पाँच हजार ६ सय ८३ बेपत्ता भएका थिए । यो संख्या आव २०७२÷०७३ भन्दा २ सय ७४ ले र आव २०७३÷०७४ भन्दा एक हजार ५ सय ९५ ले बढी हो ।

महिलाको खोजी गरे पनि महिला हराएका उजुरीमा अधिकांशले दोस्रो विवाह गरेर गएका र अभिभावकको अनुमतिबिना विवाह गरेका धेरै हुन्छन् । प्रहरीका अनुसार मानव बेचबिखनको अवस्था नभएकाले अभिभावक पनि गम्भीर देखिँदैनन् ।

प्रहरीका अनुसार फेला परेपछि प्रहरीलाई खबर नगर्ने, अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने र परिचय लुकाएर रोजगारीमा संलग्न हुने गरेका कारण बेपत्ता हुनेको संख्या बढी देखिएको हो । प्रहरीका अनुसार बेपत्ता हुनेमा महिलाको संख्या धेरै छ ।

कतिपय भेटिएर आफ्नो गाउँघरमा काममा हिँडीरहेका होलान् । तर, प्रहरीको सूचीबाट हटेका छैनन् । यो डरलाग्दो अवस्था भने नभएको प्रहरी जिकिर छ । महिला अधिकारकर्मी भने यो डरलाग्दो अवस्था भएको बताउँछन् ।

विवाहको नाममा बेचबिखनका घटना भएर बाहिर आउन नसकेको पनि हुनसक्ने महिला अधिकारकर्मीको टिप्पणी छ । धेरैजसो आफन्तलाई ढाँटेर वैदेशिक रोजगारीमा गएका हुन्छन् । उनीहरुका आफन्तले प्रहरीमा हराएको निवेदन दिन्छन् ।

पछिल्ला दिनमा यस्ता घटना धेरै भएका छन् । कतिपय महिला आफूले गर्दै आएको कामबारे खुलाउन चाहँदैनन् । उनीहरु आफ्नो परिचय ढाँटेर बसेका हुन्छन् । प्रहरीका अनुसार केही मानिस भने साँच्चिकै बेपत्ता हुन्छन् । बालबालिकाको हकमा यस्तो हुन्छ । उनीहरु कुनै न कुनै माध्यमबाट भारतका सर्कस र कोठीलगायत ठाउँमा बेचिन पुग्छन् ।

व्याप्त गरिबी नै यसको मुख्य कारण भएको दाबी गरिएको छ । कारणहरु अरु धेरै पनि होलान्, तर गरिबी मुख्य देखिन्छ । त्यसकारण बेपत्ता हुने क्रम रोक्न प्रहरीलाई कठिन भएको छ । बेपत्ता भएकाको खोजी र बेपत्ता हुने कारण पत्ता लगाएर रोक्ने उपाय गर्न प्रहरी÷प्रशासन कमजोर भएको सरोकारवालाले टिप्पणी गर्न थालेका छन् । महिला मानवअधिकार रक्षकहरु मनिस हराउने क्रम बढे पनि त्यसलाई रोक्ने उपायको खोजी नभएको बताउँछन् ।

भएका कानुनको फितलो कार्यान्वयन र खुला सिमानालगायत जस्ता कारणले विभिन्न प्रलोभनमा परेर व्यक्तिहरु बेपत्ता हुन्छन् । तर, त्यसमा निगरानी राख्ने र यसलाई कम गर्ने जिम्मा सरकार र जिल्लामा स्थानीय प्रशासनको हो ।