विक्रम अनमोल आइडल

0
Shares

हेटौंडा, (नेस)। रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै शुरू गरेको अनमोल आइडलको असार महिनाको गोल्डेन माइक हेटौंडा–१४ नयाँबस्तीका विक्रम तामाङले जितेका छन्।

अनमोल आइडल रेडियो कार्यक्रममा साप्ताहिकरूपमा उत्कृष्ट हुँदै लाइभ कार्यक्रममा प्रस्तुति दिएपछि एसएमएस भोट तथा निर्णायकको मतका आधारमा उनी उत्कृष्ट भएका हुन्। तामाङले असारको विजेता भएसँगै गोल्डेन माइकसहित नगद ३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन्। उनले २०७५ सालको वार्षिक अनमोल आइडलमा समेत स्पर्धा गर्न सक्नेछन्।

हेटौंडा–४, ख्वपः गल्लीमा अवस्थित रेडियो परिसरमा आयोजित कार्यक्रमबीच रेडियोका स्टेसन संयोजक बालकृष्ण दाहाल र सञ्चारकर्मी रिपेशऋद्धि दाहालले तामाङलाई पुरस्कार प्रदान गरे। असार ३१ गते भएको लाइभ कार्यक्रमपश्चात् असारका ३ जना साप्ताहिक विजेतामध्ये पहिलो हप्ताका विजेता सञ्जीवकुमार थिङ, तेस्रो हप्ता तथा हालका मासिक विजेता तामाङ र चौथो हप्ताका विजेता पवित्र राईलाई प्रमाणपत्र प्रदान गरिएको थियो। हरेक हप्ता, महिना र वर्षमा अनमोल आइडल छनोट गर्ने लक्ष्यका साथ शुरू भएको कार्यक्रममा सञ्चारकर्मी चन्द्र घलान निर्णायक छन्।