सरोज यादव, विराटनगर
विराटनगरमा गोदाम र गाई गोठमा पनि पानी उद्योग सञ्चालन गरेको पाइएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा गोदाम, गाईगोठ र घरको कोठामा पानी उद्योग सञ्चालन गरेको पाइएको हो ।
मन्त्रालयले गरेको चौथो दिनको अनुगमनका क्रममा विराटनगर–१२ पिचरामा पुरानो गाई गोठमा सञ्चालित भूमि जल उद्योगमा शिलबन्दी गरिएको छ भने विराटनगर–९ गोदाममा खुला रुपमा सञ्चालित मंगलम् वेभव्रेज उद्योगलाई सुधार गर्न निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा घरको कोठाभित्र सञ्चालित प्रजापति जल उद्योगलाई प्लान्ट सार्न निर्देशन दिइएको छ ।
विराटनगर–१२ मा भोला बरालको पूरानो गाईगोठमा सञ्चालित भूमि जल उद्योगले खाद्य अनुज्ञापत्र लिएको कागज देखाउन नसकेपछि शिलबन्दी गरिएको हो । उद्यागेले भूमि जल नाममा जारमा पानी उत्पादन गर्दै आएको थियो ।
बन्द कोठामा पानीको फिलिङ गर्नुपर्ने भएपनि पुरानो गोठमा सञ्चालन गरेको पाइएपछि सामाजिक विकास मन्त्रालयका सहसचिव गोपीप्रसाद घिमिरे नेतृत्वको अनुगमन समितिले शिलबन्दी गरेको हो ।
त्यस्तै विराटनगर–९ कलेज रोडमा सञ्चालित मंगलम् वेभव्रेज इन्ड्रष्टिज खुला ठाउँमा सञ्चालन गरेको पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको छ । योगेश अग्रवाल र रेनुका रेग्मी सञ्चालक रहेको मंगलम्ले खुला गोदाममा जारमा प्रशोधित पानी बिक्री गर्दै आएको थियो । प्लाट र फिलिङ प्रणाली एकै ठाउँमा भएको उद्योगलाई अनुगमन समितिले तत्काल सुधार गर्न निर्देशन दिएको हो ।
त्यस्तै विराटनगर १० मा शशि जल उत्पादन गर्दै आएको प्रजापति जल उद्योगले घरको कोठामा प्लान्ट राखेको पाइएको थियो । अनुगमन समितिले बोतलमा पानी विक्री गर्न अनिवार्य रुपमा स्वचालित फिलिङ मेसिन जडान गर्न निर्देशन दिएको छ ।
मंगलवार हुलास वाटर इन्ड्रस्टिज, जोन्सन जल र दिब्यश्री जल उद्योगमा अनुगमन गरिएको थियो । अनुगमनका बmममा प्रजापति जल उद्योगको हिसाव खाता जफल गरी दुई हजार जरिवाना गरिएको छ भने करपाटी नराख्ने दिब्यश्री जल उद्योलाई दुई हजार जरिवाना गरिएको छ ।
किसोर दुगड सञ्चालक रहेको हुलास प्युरीफाइड वाटर इन्ड्रस्टिजले उत्पादन गरेको पानीमा पोटासियम बाइकार्बाेनेट प्रयोग गर्ने गरेको पाइएको छ । सोमवार गरिएको अनुगमनका क्रममा उद्योगहरुले पानीको पीएच मिलाउन सोडा प्रयोग गर्ने गरेको पाइएको थियो ।
मंगलवार सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा ‘हुलास वाटरको’ नाममा जार र बोतलमा पानी उत्पादन गर्दै आएको सो उद्योगले पानीको पीएच (अम्ल क्षारको मापन स्तर) मिलाउने नाममा पोटासियम बाइकार्बाेनेट प्रयोग गर्ने पाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले जानकारी दिए ।
उनका अनुसार पोटासियन बाइकार्बाेनेटको सेवनले मुटु तथा रक्तचाप सम्बन्धी समस्या बढी देखिन्छ । उद्योगले ‘जोडिङ’ का नाममा प्रयोग गर्ने गरेको पाइएपछि हटाउन निर्देशन दिएको उनले बताए ।
उद्योगका सञ्चालक किशोर दुगड पानीको गुणस्तर कायम राख्न पोटासियमको प्रयोग गरिएको बताउँछन् । अनुगमनका क्रममा हुलासले बिक्री मूल्य पनि सामान्य भन्दा बढी राखेको पाइएको थियो । सामान्य तथा एक बोतल पानीको मूल्य २० रुपैयाँ तोकिएको छ । तर सो उद्योगले प्रति लिटर पानीको मूल्य ३० रुपैयाँ राखेको छ ।
पानी उत्पादक महासंघ प्रदेश १ अध्यक्ष पुण्य भट्टराई एक बोतल पानी उत्पादन गर्न उद्योगको लागत बढीमा १२ रुपैयाँसम्म मात्र पर्छ । लागतको अनुपातमा व्यावसायीले एक बर्ष अघि नै एक लिटर पानीको मूल्य २० रुपैया निर्धारण गरेको थियो । तर हुलासले भने महासंघको निर्णय विपरित एकसय प्रतिशत मुनाफा हुने गरी पानीको मूल्य ३० रुपैयाँ तोकेको हो ।
अनुगमन टोलीले मूल्य समायोजन गर्न निर्देशन दिएको छ । हुलासले खुद्रा मूल्य ३० रुपैयाँ राखेपनि बिक्री भने सरदर १३ रुपैयाँ लिटरले बिक्री गर्दै आएको पाइएको छ । सो उद्योगले काटेको भ्याट बिल हेर्दा पनि पानीको सरदरमूल्य १३ रुपैयाँ मात्र कायम गरि बिल काटिएको पाइएको छ । उद्योगका सञ्चालक दुगड भने लागत अनुसारको मूल्य राखिएको बताउँछन् ।











प्रतिक्रिया