महिलामैत्री भएनन् सार्वजनिकस्थान

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
लागुऔषध सेवनकर्ताका कारण आफूहरुले सार्वजनिकस्थलमा असुरक्षित महसुस गर्नुपरेको महिला र किशोरीले बताएका छन् ।

एक अध्ययनका क्रममा अधिकांश महिला तथा किशोरीले आफूहरु मदिरापान तथा लागुऔषध सेवन गर्ने मानिसका कारण साँझ÷विहान डराइडराइ हिँड्नुपरेको बताएका हुन् ।

सार्वजनिकस्थान कतिको महिलामैत्री छन् भन्ने विषयमा जानकारी लिने उद्धेश्यले मकवानपुर महिला समूहले अध्ययन गरेको थियो । ती स्थानका किशोरी समूह परिचालन गरी गरिएको अध्ययनमा छात्राहरु विहान स्कुल जाँदा वा साँझ फर्केर आउँदा लागुपदार्थ सेवन गर्ने मानिसले पिछा गर्ने, जिस्काउने, अपशब्द प्रयोग गर्नेलगायत हैरानी व्यहोर्नुपरेको बताएका थिए । यस्ता समस्याका कारण एक्लै हुँदा बरु स्कुल नै नजाने भन्दै कतिपय छात्राले कक्षा छाड्ने गरेको अध्ययनकर्तालाई बताएका थिए ।

अध्ययनबाट महिला र किशोरी दिउँसोको समयमा खासै हिंसा भोग्नुपर्ने अवस्था नभए पनि साँझ÷विहान आफ्नो काम पर्दा कतै जाऊँ न त भन्ने अवस्था नभएको तथ्य फेला परेको थियो । ती स्थानका सार्वजनिक सेवाप्रवाह हुने कार्यालय र स्थान, बसपार्क, बजार, पार्क, चोक÷चौतारा जस्ता मानिसको भीड हुने क्षेत्रमा अध्ययन गरिएको थियो ।

जंगलछेऊका सामुदायिक भवन गाँजा खानेहरुको अखडा बनिरहेको र त्यस्ता ठाउँमा महिला तथा किशोरी पुग्दा उनीहरुमाथि हिंसा हुने गरेको तथ्य अध्ययनमा फेला परेको थियो । बत्ती नभएका स्थानमा महिलाले आफूलाई असुरक्षित महसुस गर्ने गरेको बताएका थिए । चोकमा व्यवसाय गरेर बस्ने महिलाले भने आफू सधैं सोही स्थानमा बसेको र सबै चिनेजानेका हुनाले सुरक्षित महसुस गर्ने गरेको बताए ।

अध्ययनबाट प्राप्त तथ्यका आधारमा दुई वडाका अध्यक्षलाई ९ बुँदे मागपत्र पेश गरिएको छ । हेटौंडा–१९ अध्यक्ष नरनाथ सुबेदी (नवराज) लाई अध्ययनबाट प्राप्त तथ्यसहित मागपत्र बुझाउँदै मकवानपुर महिला समूह अध्यक्ष ईश्वरी बानियाँले वडाका सार्वजनिकस्थान महिलामैत्री बनाउन आग्रह गर्नुभयो ।

वडाध्यक्ष सुबेदीले यस्ता विषय वडाको चासोको विषय भएको भन्दै समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दशैंसम्म वडाका संवेदनशील क्षेत्रमा बत्ती व्यवस्था गर्ने, भित्री बजार क्षेत्रमा सीसी क्यामरा र टाढाबाट पढ्न जाने विद्यार्थीलाई छात्रावासको व्यवस्था गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

हेटौंडा–१८ अध्यक्ष अनिलकुमार बानियाँलाई तथ्यसहित मागपत्र बुझाउँदै समूह कार्यक्रम संयोजक निशा लामाले सार्वजनिकस्थान महिलाको पनि हो भन्ने महसुस गराउने दायित्व जनप्रतिनिधिको भएकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

अध्यक्ष बानियाँले यस विषयमा आफू सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । छात्रालाई पढ्न आउन टाढा भयो भनेर होस्टल चलाउने तयारीमा रहेको उहाँले बताउनुभयो । कोही छात्राले कुनै दिन कक्षा छाड्नु नपरोस् भन्ने उद्धेश्यले विद्यालयमा सेनेटरी प्याड व्यवस्था गरिएको अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

सार्वजनिकस्थानमा महिला सुरक्षाको अवस्थाबारे बुझ्दै महिलामैत्री सार्वजनिकस्थान विकास गर्ने उद्धेश्यसाथ एक्सन एड्को सहयोगमा समूहले अध्ययन गरेको हो । अध्ययनले स्थानीय तहलाई महिलामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको समूहकी कार्यक्रम संयोजक लामाले बताउनुभयो ।