नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमले पार्टीको विधान र पार्टी सञ्चालनसम्बन्धी कार्यविधिबारे उमेरसँग जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाएका छन् ।
नेता गौतमका तर्फबाट प्रेश संयोजक विश्वमणि सुवेदीले बुधबार एक विज्ञप्ति जारी गर्दै तत्कालिन एमालेको विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद नयाँ विधानबाट हटाउने प्रयोजनका लागि गौतमले विभिन्न नेतासँग अँगालो हालेका जस्ता भ्रामक समाचारमा सत्यता नभएको जनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र पार्टी सञ्चालन सम्बन्धी कार्यविधि पार्टीबाट अनुमोदन भई प्रकाशनमा गएको र पार्टीले हालसम्म त्यस्ता दस्तावेजहरु सार्वजनिक नगरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएपछि दुबै पार्टीका विधान र कार्यविधिलाई आधार मान्दै पार्टीको नयाँ विधान तयार भएको हो ।
विधानहरु तयार पार्ने क्रममा मस्यौदा कमिटी, पुनरावलोकन गर्ने कार्यदलहरु बनेका थिए । तर, समाचारमा तत्कालिन एमालेको विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद नयाँ विधानबाट हटाउने प्रयोजनका लागि वामदेव गौतमले विभिन्न नेतासँग साँठगाँठ गरेकाजस्ता भ्रामक र कपोलकल्पित समाचार आएका छन् । पार्टी कामका सन्दर्भमा व्यक्तिगत भूमिका वा कुनै किसिमको माग दावी उहाँले प्रस्तुत गर्नुभएको छैन ’ जारी विज्ञप्तिमा भनिएको छ‘ ।
वरियता निर्धारणदेखि उमेर हद कायम गर्नेसम्मका विषयमा उहाँको कुनै संलग्नता नभएको यथार्थलाई लुकाउँदै एउटा नेतालाई ‘पदलोलुप’ नेताका रुपमा प्रस्तुत गरिनु दुराशयपूर्ण विषय भएको पनि उल्लेख गरिएको छ ।
पार्टीले दिएको जिम्मेवारी र भूमिका अनुसार गौतम हाल वरियताको पाँचौ स्थानमा रहेका छन् ।











प्रतिक्रिया