पहिरोले महाकाली राजमार्ग अवरुद्ध



विनोद सिंह विष्ट, बैतडी ।
गएराती परेको पानीका कारण महाकाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतबाँझ– गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानिय सुरेस श्रेष्ठले जानकारी दिनुभयो ।

बांगाबगरमा माथिवाट आएको पहिरोका कारण गएरातीदेखि नै सडक अबरुद्ध हुदा यातायात पुर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको भएपनि लगातार पानी परिरहेकोले केही समस्या भएको बताईएको छ । अवरुद्ध सडक अपरान्हसम्म सडक पुन सञ्चालनमा आउने प्रहरीले जनाएको छ । यातायातका साधन पुर्ण रुपमा बन्द हुदा बैतडीबाट बाहिरीने र भित्रीने लामो तथा छोटादुरीका यातायातका साधन रोकिएका बताईएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला , बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन । वि स २०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।यसका साथै उक्त पहिरोले त्यो बेला बांगाबगर ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो । सोहीबेलादेखि प्रत्येक बर्ष आउने पहिरोले हाल पनि बांगाबगरबासीलाई चिन्तित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्