म्याग्दी उद्योग वाणिज्य संघद्वारा ३० लाखको व्यवसायी हितकोष स्थापना

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघले ३० लाख रुपैयाँ बराबरको व्यवसायी हितकोष स्थापना गरेको छ ।

उद्योग वाणिज्य संघमा आबद्ध उद्योगी, व्यवसायीहरुलाई लक्षित गर्दै संघले चालु आर्थिक वर्ष २०७५÷७६ को साउन महिनाको सुरुदेखि लागू हुनेगरी व्यवसायी हितकोष सञ्चालन गरेको हो ।

संघको मङ्गलबार बसेको कार्यसमितिको सातौं वैठकले ‘व्यवसायी हितकोष, सञ्चालन कार्यविधि–२०७५’लाई अनुमोदन गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले जानकारी दिएका छन् । उनका अनुसार म्याग्दी उद्योग वाणिज्य संघमा आबद्ध सदस्यहरुबाट प्रति सदस्य दुईहजार रुपैयाँका दरले सहयोग लिनेगरी व्यवसायी हितकोषलाई अगाडि बढाइएको छ ।

चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइएको हितकोषमा आगामी एक वर्षभित्रै ३० लाख रुपैयाँ जम्मा गरिने लक्ष्य राखिएको संघका महासचिव गौतमको भनाइ छ । यसअघि उद्योग वाणिज्य संघले प्रति सदस्य एकसय रुपैयाँ व्यवसायी हितकोष भनेर लिने गरेको उनले बताए । कोषबाट संघमा आबद्ध कुनै पनि सदस्य भवितव्य वा दुर्घटनामा परेको खण्डमा निज व्यक्तिलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिइनेछ । यसैगरी प्राकृतिक प्रकोपबाट पेशा तथा व्यवसायमा क्षति पुगेमा ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइने भएको छ ।

त्यस्तै संघका सदस्यको परिवारका अन्य सदस्यहरु श्रीमान् वा श्रीमती, बाबुआमा र छोराछोरी पीडामा वा अप्ठ्यारो अवस्थामा परेमा व्यवसायी हितकोषबाट २५ हजार रुपैयाँ सुहानुभूतिस्वरुप आर्थिक सहयोग गरिने व्यवसायी समेत रहेका संघका महासचिव गौतमले बताए ।

कुनै घटना घटेमा प्रहरीको मुचुल्का, स्थानीय तहको सिफारिस र घटनाको अवस्थालाई मध्यनजर गरेर व्यवसायी हितकोषबाट उक्त रकम सहयोग गरिने जनाइएको छ । न्युनतम रुपमा पनि चालु वर्षमै हितकोषमा ३० लाख रुपैयाँ पु¥याइने लक्ष्य राखिएको छ । हितकोषमा रहेको रकमबाट प्राप्त व्याजले सहयोग गरिने हुँदा सो रकम अन्य शीर्षकमा खर्च गरिने छैन ।

संघमा आबद्ध व्यवसायीलाई कुनै पनि समयमा पर्नसक्ने अप्ठ्यारोलाई कम गर्नका लागि उसलाई सुहानुभूति प्रदान गर्ने उद्देश्यले व्यवसायी हितकोषलाई अगाडि बढाइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । हितकोष व्यवसायीहरुका लागि सञ्चालन गरिएकाले व्यवसायीलाई अप्ठ्यारो पर्दा हितकोषले केही मात्रामा भए पनि राहत मिल्ने उनले बताएका छन् । हितकोषमा न्युनतम पनि चालु आवभित्रै ३० लाख रुपैयाँ पुर्याइने र कोषलाई निरन्तर रुपमा अगाडि बढाइने अध्यक्ष कर्माचार्यले बताए ।

यसैबीच यही साउनको २५ र २६ गते बेनीमा डोरटोली आउने हुँदा उक्त अवसरमा एकहजार जना सदस्यहरुलाई हितकोषमा आबद्ध गराउने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । मङ्गलबारको सातौं वैठकले संघको २५औं वार्षिक साधारणसभा आगामी भदौको १६ गते गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य संघको पहलमा यसअघि जिल्लामा विभिन्न किसिमका कामहरु भएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघकै पहलमा २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाउने गरी घोषणा गरिएको छ । २०२७ सालमा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीको साथसाथै जिल्लाको सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको छ ।