पोल्यान्ड र टर्कीमा झण्डा फहराउँदै घन्कियो मौलिक नेपाली गीत

0
Shares

चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डाका साथमा दौरा सुरुवाल, ढाकाटोपी अनि गुन्युचोलीमा सजिएर नेपाली कलाकार टोली जब पोल्यान्डको स्टेजमा उक्लन्छन्, विभिन्न देशबाट जम्मा भएका दसौं हजारले तालिका पर्रा छुटाउँदै सम्मान गर्छन्। यो रोमाञ्चक दृश्य हालै पोल्यान्ड र टर्कीमा सम्पन्न अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला–२०१८ को हो।

पोल्यान्डका २ छुट्टाछुट्टै राज्य लेग्निचा र क्रिनिचा शहरमा सम्पन्न लोक सांस्कृतिक मलाका साथै टर्कीको चनाकालेमा सम्पन्न अन्तर्राष्ट्रिय लोक नृत्य प्रतियोगितामा एभरेस्ट नेपाल कल्चरल ग्रुपले आफ्नो मौलिक संस्कृति र नृत्य प्रस्तुुत गरी नेपाल फर्केको छ। पोल्यान्डमा सम्पन्न मेलामा १२ राष्ट्रको १५ टोली सहभागिता रहेको थियो भने टर्कीमा सम्पन्न मेलामा १६ राष्ट्रबाट २२ साँस्कृतिक समूहले भाग लिएका थिए। मेलामा नेपालको तर्फबाट एभरेस्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो।

ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको संयोजन तथा निर्देशकहरू शीतल आचार्य (सीता) र मिरज कोइरालाको निर्देशनमा टोलीले आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो। टोलीले मेलामा झ्याउरे, तामाङ, झोडा, सतार, सेब्रु, धिमल, सोरठीका साथै दर्जनांै नृत्य प्रस्तुत गरेको थियो।

गु्रपका तर्फबाट रुपिन डंगोल, शम्भु शाही, उदिराम खड्का, विधान कोइराला, प्रमिल रिजाल, अनिता अधिकारी, अनिश राना मगर, निशा राना मगर, पुर्नीमाया बजगाईंले नृत्य प्रस्तुत गरेका थिए भने वाद्यवादन तथा गायकगायिकातर्फ बाँसुरीजवादक रामबहादुर भुजेल, गायक रामप्रसाद पाण्डे, वाद्यवादक धनेश्वर तिवारी, गायिका रीता बुढाथोकी भुजेल, डेकप्रसाद अधिकारी (गोपाल), प्रदीप गुरुङले गीत–संगीत र वाद्यवादन प्रस्तुत गरेका थिए।