सम्पत्ति शुद्धीकरणप्रति सरकारले विशेष चासो छ: अर्थमन्त्री

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा सुशासन, आर्थिक समृद्धि र दिगो विकास लक्ष्य प्राप्तिका लागि मुद्रा अपचलन र सम्पत्ति शुद्धीकरणमा सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ । मंगलबार राजधानीमा आयोजित एसिया प्रशान्त क्षेत्रीय समँहको २१आंै बैठकको उद्घाटन गर्दै मन्त्री खतिवडाले उक्त कुरा बताउनुभएको हो ।

दिगो विकास, वित्तीय सुशासन कायम गर्न तथा वित्तीय अपराध र आतंकवादलाई निरुत्साहन गर्न सम्पत्ति शुद्धीकरण आवश्यक रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

नेपालले लामो समयदेखि सम्पत्ति शुद्धीकरणका विषयमा आवश्यक ऐन कानुन बनाई प्रभावकारी रुपमा कार्यान्वयनसमेत गरिरहेको विषयलाई स्मरण गराउँदै मन्त्री खतिवडाले सम्पत्ति शुद्धीकरणका लागि गैरकानुनी ढंगले आर्जन भएको सम्पत्तिलाई वैध बनाउन नदिने विषयमा सरकार चनाखो रहेको समेत बताउनुभयो । ‘कालो र अवैध तरिकाबाट कमाईएको धनलाई सेतो र वैध हुनबाट रोक्नसरकार चनाखो रहेको छ । हामी वित्तीय अनुशासन, पारदर्शिता, सुशासन र जवाफदेहितामार्फत दिगो र समुन्नत अर्थतन्त्रको विकास गर्न लागि परेका छौं ।’ मन्त्री खतिवडाले भन्नुभयो ।

गत शनिबारदेखि शुरु भएको सो बैठकमा एपीजी सदस्य राष्ट्र, पर्यवेक्षक राष्ट्र, विश्व बैंकलगायत आर्थिक क्षेत्रका ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । उक्त बैंठकमार्फत् वित्तीय अपराध र आतंकवादमा प्रयोग हुन सक्ने अवैध वित्तलाई कसरी सामँहिक रुपमा रोकेर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने विषय तथा सम्पत्ति शुद्धीकरणमा सदस्य देशले गरिरहेका प्रयासका बारेमा एक अर्काका अनुभव आदान प्रदान गर्नेसमेत उद्देश्य दिइएको छ । बैठक शुक्रबारसम्म चल्नेछ ।