अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेटवार्ता


काठमाडौँ ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध, व्यापार, लगानी र रोजगारीका बारेमा छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेकाले अझ सम्बन्धलाई प्रगाढ बनाई एकअर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहनुपर्ने बताउनुभयो ।

उहाँले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दक्षिण कोरियाले नेपाललाई उच्च प्राथामिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । ‘‘नेपालका सरकारी कर्मचारी तथा विद्यार्थीलाई कोरियाले छात्रवृत्तिमार्फत उच्च शिक्षाको अवसर दिएको छ,’’ उहाँले भन्नुभयो, “इपिएस ९इम्लाएमेन्ट प्रमिट सिस्टम०मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको छ ।’’

दक्षिण कोरियाको नेशनल एसेम्बली र नेपालको संसदबीच सम्बन्धलाई अझ राम्रो बनाउन ‘संसदीय मैत्री समूह’ स्थापना गर्न सकिने धारणा राख्नुभयो । नेपाल र कोरियाबीच सन् २००२ मा संसदीय मैत्री समूह स्थापना भएको थियो । तर अघिल्लो व्यवस्थापिका–संसद्ले त्यसलाई निरन्तरता दिन सकेको थिएन ।

त्यसैगरी, अध्यक्ष तिमिल्सिनाले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०मार्फत नेपालको सडक, जलविद्युत्, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्राप्त सहयोगप्रति सराहना व्यक्त गर्नुभयो । उहाँले नेपाल अहिले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरी समृद्धि र विकासतर्फ अगाडि बढ्ने प्रयासमा रहेकाले यसमा कोरियाली सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपालले कोरियाली प्रायद्वीपको शान्ति, एकता र स्थिरता हेर्न चाहेको उहाँले बताउनुभयो ।
भेटमा कोरियाका राजदूत योङ सिकले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढ्दै गएको भन्दै नेपालमा व्यापार तथा पूर्वाधारको क्षेत्रमा काम गरिरहेका कोरियाली नागरिकले प्रवेशाज्ञा थपका लागि केही समस्या भोग्नुपरेको जानकारी दिनुभयो ।

उहाँले कोरियामा काम गरेर फर्किएका नेपालीका लागि नेपालमै रोजगारी दिनसक्ने सहयोगबारे दूतावासले अध्ययन गरिरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गरेर नेपालको विकासमा साझेदारी र सहयोग गर्न कोरिया तयार रहेको बताउनुभयो ।
रासस