बाल यौन दुराचारको आरोपमा दुई फ्रान्सेली पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाल यौन दुराचार गरेको आरोपमा दुई फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ । विभिन्न मुलुकका विदेशी नागरिकहरु नेपालमा आई गरिब र विपन्न परिवारका बालकहरुलाई ललाई, फकाई बाल यौन दुराचार गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई ब्युरोले पक्राउ गरेको हो ।

फ्रान्सेली नागरिक ४२ वर्षिय क्रिस्टोफी गुइलीउक्स र ३८ वर्षिय डेनिस माथेउ माइकल चुपोलाई आइतबार गौशला चोकबाट पक्राउ गरेको ब्युरोले जनाएको छ ।

सन् २०१७ सेप्टेम्बरमा क्रिस्टोफी र अक्टोवरमा डेनिस पर्यटक भिसामा नेपाल आई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका स्थित स्थानियको घरमा डेरा गरी बाल यौन दुराचार र अप्राकृतिक मैथुन गर्दै आएको ब्युरोले जनाएको छ ।

उनीहरुले स्थानीय १० देखि १४ वर्ष उमेर समूहका बालकहरुलाई फुटबल, चक्लेट, जर्सी किनिदिने, पैसा दिने, स्थानीय स्वीमिङ पुलमा पौडी खेल्न लैजाने, खाजा र खाना खुवाउने र प्रलोभनमा पारी पालैपालो बालकहरुलाई यौन दुराचार गरेको ब्यरोले खुलाएको छ ।
डेनिस यस अघि सन् २००४ मा फ्रान्समै बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ परी सजाय पाएको समेत खुल्न आएको छ । उनीहरुलाई जवरजस्ती करणी महलको बाल यौन दुराचार अपराधमा मुद्धा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान जारी राखेको ब्युरोले जनाएको छ ।