पुजापाठले डा.लोहनीका ज्वाइँको स्वास्थ्यमा चमत्कारिक सुधार


काठमाडौँ ।
निकै सुविधा सम्पन्न अस्पतालले दुई सातासम्म पनि पहिचान गर्न नसकेको रोग अनि विरामीको अवस्था धार्मिक पुजापाठले सुधार भयो भन्दा धेरैलाई विश्वासै लाग्दैन ।
तर यस्तै भएको छ, अमेरिकामा रहेका एक नेपालीको । विरामी भएर दुई साता अघि अस्पताल भर्ना भएका राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाश चन्द्र लोहनीका ज्वाईँको स्वास्थ्य पुजापाठले सुधार भएको छ ।
१५ दिन अस्पतालमा रहँदा पनि विरामीको अवस्था २०को १९ हुन नसकेपछि ज्योतिषको सरसल्लाहमा नियमित पुजापाठ गर्न थालेपछि लोहनी ज्वाईँको स्वास्थ्य अवस्था सन्तोषजनक रुपमा सुधार भइरहेको लोहनीको पारिवारिक स्रोतले जनाएको छ ।
नेता लोहनीका ३ छोरी–ज्वाईँ मध्ये आत्रेय गोत्रका ज्वाईँको स्वास्थ्य सुधारको कामना गर्दै लोहनी दम्पत्तिले काठमाडौं धुम्वाराही निवासमा केही दिनयता नियमित पुजापाठ गरेका हुन् । विगतमा पुजापाठमा खासै चासो नराख्ने नेता लोहनी ज्वाईँको स्वास्थ्यमा सुधार हुन थालेपछि पुजापाठमा विश्वास गर्न थालेका एक आफन्तले बताए ।
उनका अनुसार नेपालमा साँझ र अमेरिकामा दिउँसोको समय पारेर लोहनी निवासमा पुजापाठ हुने गरेको छ । भोली बुधवार महामृत्युञ्जय पुजा, रात्री पुटिक, रात्री चण्डी पुजा र धार्मिक विधी विधान गर्ने कार्यक्रम रहेको बताइएको छ ।