धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको त्रिबेणी गाँउपालिकाले कृषकहरुलाई निशुल्क फलफुलका बिरुवा बितरण गरेको छ । त्रिवेणी गाउँपालिका –४ खाराका कृषकहरुलाई निःशुल्क फलफूलका विरुवा वितरण गरिएको हो । कृषि व्यवसाय गर्दै आएका तीनसय २३ घरधुरीलाई प्रतिघर २७ वटा विरुवाका दरले फलफूलका वितरण गरिएको हो ।
त्रिवेणी गाउँपालिकाको आर्थिक वर्ष ०७४।०७५ को बजेटबाट वडाको कृषि क्षेत्रका लागि विनियोजन गरिएको चारलाख २० हजार बजेटबाट सुन्तला, कागती र टिमुरका विरुवा खरिद गरी कृषकहरुलाई निःशुल्क वितरण गरिएको त्रिवेण गाउँपालिका –४ का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । यसअघि अलैंचीका विरुवा समेत वितरण गर्ने भनिएपनि बजेट नपुग भएकोले अर्को वर्षको बजेटबाट अलैँतीका विरुवा पनि वितरण गरिने उहाँले बताउनुभयो ।
आफूहरुले निःशुल्क रुपमा फलफूलका विरुवा पाउँदा खुसी लागेको स्थानीय टिका ओलीले बताउनुभयो । यसवर्ष वितरण गरिएका विरुवाको राम्रो स्याहार संरक्षण गर्ने उत्कृष्ठ कृषकहरुलाई अर्को वर्ष थप विरुवा दिईने वडा अध्यक्ष खड्काले बताउनुभयो । ‘यी सबैको घरमा पुगेर अनुगमन गरिन्छ ।’ उहाँले भन्नुभयो,‘राम्रो गर्नेलाई कामको मूल्यांकनका आधारमा थप सहयोग हुनेछ ।’ कृषक आफैँले फुटकरमा किन्दा प्रतिविरुवा ५० देखि १०० रुपैयाँ सम्म खर्च गर्नुपर्ने भएपनि वडाले एकमुष्ट किन्दा २५ रुपैयाँ प्रतिविरुवा खरिद गरेको वडा अध्यक्षले खड्काको भनाई छ ।
विरुवा बाहिरबाट खरिद गर्नुपरेको भएको महंगो पर्नेमा स्थानीय कृषक मकर ओलीले विरुवा उत्पादन गर्दा सुलभ मुल्यमा प्राप्त गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले निःशुल्क रुपमा दिएको विरुवालाई राम्रो संरक्षण गरी यसबाट व्यवसाय विस्तार गर्ने योजना रहेको स्थानीय कृषक खडकबहादुर खड्काले जानकारी दिनुभयो ।











प्रतिक्रिया