कता कता हरायो पालुङको फिल्म सिटी

0
Shares

 रोशन पराजुली, हेटौंडा
देश–३ मा फिल्म सिटी निर्माण हुने प्रदेश सरकारले जनाइरहँदा प्रधानमन्त्री केपी ओलीसँग भारतको एस्सेल ग्रुप प्रमुख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज अध्यक्ष सुवास चन्द्रा एवं सिने अभिनेतृृ जया प्रदालगायतले भेटेका छन्।
भारतीय समूह फिल्म सिटी निर्माणका लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेर फर्किएको थियो। अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको बताए। उनले ती ठाउँबारे प्रशंसाका शब्द खर्चिए। उनले नेपालमा फिल्म सिटीको स्थापनाका लागि प्रारम्भिक कार्य शुरू भइसकेको पनि बताए। भारतले यति धेरै काम अगाडि बढाउँदा सिनेमा छायांकनका लागि भरपुर प्रयोग गरिँदै आएको उत्तरी मकवानपुरको दामनपालुङ क्षेत्रको चर्चा भने कहीं कतै भएन। त्यस क्षेत्रमा प्रशस्त संख्यामा फिल्म छायांकन हुँदै आएका छन्। केही वर्षअघि त्यहाँ फिल्म सिटी बनाउनेबारे बहस नै चलेको थियो। तर, त्यसपछि यो विषय नै सेलाएको छ।
नेपाली फिल्मका निर्माता पछिल्लो समय उत्कृष्ट फिल्म निर्माणका लागि सजग हुने गरेको देखिन्छ। त्यसका लागि हरेक किसिमबाट गीत, संगीत, कथा, निर्देशनको पाटोदेखि सुन्दर लोकेसनको खोजीमा हुन्छन्। आँखालाई शीतलता दिन सक्ने लोकेसन हन्टिङका लागि मेकरहरू समय नै खर्च गरेर निस्कने गरेका छन्। यही परिवेशलाई केही हदसम्म भए पनि सहयोग होस् भन्ने हेतुले नगरले प्रयास थालेको थाहानगरका मेयर लवशेर विष्ट बताउँछन्।
विशेष गरी पर्यटकीयस्थलका रूपमा चिनिएको होमस्टे तथा त्यस वरिपरिका दृश्यलाई फिल्ममा उतार्दा दर्शकलाई नयाँ स्वाद पनि हुने र प्रचार–प्रसारलाई सहयोग पुग्ने उनको विचार छ। केही सम्भावनाजन्य पूर्वाधार पूरा गर्न सके फिल्म छायांकनका लागि पालुङ क्षेत्र उत्कृष्ट बन्ने उनले बताए। चलचित्र छायांकनका लागि केन्द्र र प्रदेश राजधानीबाट नजिक थाहानगर उत्तम रोजाइ हुने उनले प्रतिक्रिया दिएका छन्। उनले थाहानगरलाई फिल्म छायांकन नगर बनाउन सक्ने र त्यसका लागि सबै सरोकारवालासँग पहल गर्न अनुरोध गरे र सरकारको ध्यानाकर्षण पनि गरे। उनले आवश्यक पूर्वाधारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
होमस्टे सञ्चालकहरूले पनि आफूहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। ‘नेपालले आधुनिक फिल्म सिटी बनाउन चलचित्र विकास बोर्ड, पर्यटन मन्त्रालय, सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयसँग सहकार्य गरेर मात्र फिल्म सिटी बनाउन सम्भव छ’, मेयर विष्टले भने– ‘फिल्म सिटी बनाउन झन्डै १५ अर्ब जति बजेट लाग्ने सुनेको छु। त्यो पैसा जुटाउन सबैकोे सहयोग जरुरी हुन्छ।’ उनले यहाँ हलिउड शैलीको फिल्म सिटी बनाउनुपर्नेमा जोड दिए। सिंगापुर तथा हलिउडका अन्य फिल्म स्टुडियोमा जस्तै सबै किसिमका सुविधा रहेकाले त्यही शैलीको स्टुडियो यहाँ बनाउनुपर्ने उनको बुझाइ छ। सरकार भने कहिले दोलखा त कहिले पोखरामा फिल्म सिटी स्टुडियो निर्माण गर्ने भनेर अलमलिइरहेको छ।
भारतीय टोलीले नेपालमा जी सिने अवार्ड गर्नेबारे समेत छलफल गरेको छ। टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आगामी नोभेम्बर÷डिसेम्बरमा अवार्ड गर्ने जनाएको छ। उनीहरूले यो अवार्डमा यसपालिदेखि नेपाली फिल्मका लागि पनि एक अवार्डको व्यवस्था गरिनेसमेत जानकारी गराएका छन्।