शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गत असार २९ गतेदेखि आँखादानसम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन हुने गरी तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच सम्झौता भएको छ।
तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माबीच सम्झौतापत्र आदानप्रदान भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह भन्नुहुन्छ– ‘यो प्रयास एकदमै राम्रो हो। सरकार तथा स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने काम तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखादान समाजको पहलमा भएको छ। दृष्टिविहीनलाई दृष्टि दिने यो पूण्य कार्यमा स्वास्थ्य मन्त्रालयको तर्फबाट कहाँ कसरी सहयोग गर्न सकिन्छ, त्यसमा मेरो तर्फबाट पूरा साथ तथा सहयोग हुनेछ।’
कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले भन्नुभयो– ‘आँखाको नानीदान र संकलनमा यसलाई एक थप अग्रगामी कदमको रूपमा हामीले लिएका छौं। धेरै प्रयासपश्चात् शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग सहकार्य गर्न पायौं। विगतमा आँखादानसम्बन्धी मानिसलाई बुझाउन गाह्रो भए तापनि अहिले धेरै हदसम्म सफल भएका छौं। आँखादानसम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र देशव्यापीरूपमा धेरै बढाउन सक्यौं भने आँखाको नानीबाट दृष्टिविहीन भएर बस्नुपरेकाका लागि दृष्टि फर्काउन सकिन्छ। यो पूण्य कार्यमा सहयोग गर्ने स्वास्थ्य मन्त्रालय, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, नेपाल आँखादान समाजलगायत सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु।’
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले भन्नुभयो– ‘यो कार्य एकदमै राम्रो कार्य हो। सबैले यसलाई सहयोग गर्नुपर्छ। म अपिल गर्न चाहन्छु कि नेपालभरि नै सबै क्षेत्रबाट तिलगंगासँग सहकार्य गरेर आँखाको नानी संकलन केन्द्र बृहत्रूपमा बढाएर दृष्टिविहीन भएर दुःख पाउनुभएकालाई दृष्टि प्रदान गर्न सहयोग गरौं।’
नेपाल आँखादान समाजका अध्यक्ष जगन्नाथ महर्जन भन्नुहुन्छ– ‘आज हाम्रो पहिलो प्रयास सफल भएको छ। तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत नेपाल आँखा बैंकको जुन सोचसहितको लक्ष्य र उद्देश्य छ, त्यसलाई हामीले मात्र साथ दिएका हौं। आजको सम्झौतापत्र सफल हँुदा हामी एकदमै खुसी भएका छांै, साथै आफ्नो जिम्मेवारी पूरा गरेको महसुस गरेका छौं। शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आँखादानसम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र एउटा नमुनाको रूपमा स्थापना गरी काठमाडौं र देशका विभिन्न जिल्लामा अवस्थित सरकारी अस्पतालमा पनि स्थापना गर्न प्रेरित होस् भन्ने हामीले लक्ष्य लिएका छौं। आजको यस सहकार्य सम्झौतामा सहयोग गर्नुहुने स्वास्थ्य मन्त्रालय र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई धन्यवाद दिन चाहन्छु।’
सम्झौतापत्र आदानप्रदान कार्यक्रममा स्वास्थ्य मन्त्रालयका तर्फबाट सहसचिव डा. दीपेन्द्ररमण सिंह, तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ, नेपाल आँखा बैंकका मेडिकल निर्देशक डा. लिना बज्राचार्य, नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वयना, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्दका प्रशासन प्रमुख राम आचार्य, नेपाल आँखादान समाजका अध्यक्ष जगन्नाथ, महासचिव साधुराम महर्जन, कोषाध्यक्ष सुरेन्द्र शाक्य, सञ्चार संयोजक मोतीशान्ति शाक्यलगायतको उपस्थिति थियो।











प्रतिक्रिया