नबिल बैंक र एसियन नेट कम्पनी बीच सम्झौता



काठमाडौं, (नेस)
नबिल बैंकले एसियन नेट कम्पनी जापानसँग विप्रेषणको कारोबारको लागि सहकार्य गर्ने भएको छ । जापानमा रहेका नेपालीले नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुन सुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंकमार्फत रकम पठाउन सक्नेछन् । यस ब्यवस्थाबाट नबिल बैंकले जापानबाट आफ्ना ग्राहकका लागि सुरक्षित, सस्तो र छिटो माध्यमबाट जापानबाट रकम पठाउने काम गर्नेछ ।

जापानको टोकियोमा आयोजित समारोहमा नबिल बैंक लिमिटेडका चिफ बिजनेस अफिसर अनिल कुमार खनाल र एसियन नेट कम्पनी लिमिटेड, जापानका अध्यक्ष हिगासिदा सुजेनले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका अनुसार जापानको मार्गबाट हाम्रो विप्रेषणको सञ्जाललाई विस्तार गरी र जापानमा रहेका नेपालीलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न पाउँदा हामी उत्साहित भएका छौं ।

यस व्यवस्थाको माध्यमबाट सञ्चालन गरिने विप्रेषण कारोबारमार्फत नबिल बैंकमा खाता रहेका ग्राहकको लागि तत्कालै र अन्य बैंकको हकमा एक कार्य दिनमै भुक्तानीको सेवा प्रदान गर्नेछ ।
नबिल बैंक वेष्ट्रन युनियनको नेपालमा रहेको एक मात्र प्रमुख एजेन्ट बैंक हो ।

प्रतिक्रिया दिनुहोस्