‘सरकार सर्वसत्तावादतिर’

0
Shares

बाँके । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार सर्वसत्तावादतिर अघि बढेको बताउनु भएको छ ।

प्रेस युनियन, बाँकेले सोमबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै केन्द्रीय सदस्य डा. कोइरालाले कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अनसन बसेका व्यक्तिलाई जबरजस्ती उठाउने, उपकुलपतिलाई प्रहरीले समातेर प्रधानमन्त्री समक्ष लैजाने, ट्रमा सेन्टरमा विरामी हेरिरहेका व्यक्तिलाई समातेर गृहमन्त्रीसमक्ष पु¥याउने, कानून सम्मत अघिल्लो सरकारले गरेका निर्णयहरु उल्ट्याउने, माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने गतिविधिले सरकार सर्वसत्तावादतिर अघि बढेको देखिएको बताउनुभयो ।

‘दुई तिहाईको सरकार छ । जे गरे पनि हुन्छ भन्ने सरकारको दम्भ छ । लोकतन्त्रमा एकजना भएपनि विरोधीको स्वर सुन्नुपर्छ, डा. कोइरालाले थप्नुभयो, यस्तै दम्भ रहे ओलीको हालत पनि अरुको जस्तै हुन्छ ।’

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई ओलीले सरकारले अगाडि बढाएकाले त्यसलाई संसदमा छलफल गराएर पारित गरी विधेयक बनाउदा डा. केसीको माग सम्बोधन हुने डा. कोइरालाको भनाई थियो । उहाँले डा. केसीलाई मोहरा बनाएर कांग्रेसले आन्दोलन थालेको कुरा गलत भएको बताउनुभयो ।

डा. कोइरालाले सरकारको राम्रो कुराको कांग्रेसले समर्थन गरिरहेको उल्लेख गर्नुभयो । ‘ओलीले पानी जहाज, रेल ल्याउँछु भन्नु भएको छ । त्यो छिटो ल्याउनुस् हामीले पनि भनिरहेका छौं, डा. कोइरालाले भन्नुभयो, समृद्धि निर्माणमा हामीले सहयोग गर्छौ । आन्दोलनमा जाने हाम्रो रहर होइन ।’

डा. कोइरालाले कांग्रेसको वर्तमान नेतृत्व विधि र विधान सम्मत नहिडेको टिप्पणी गर्नुभयो । ‘पार्टीलाई विधि र विधान सम्मत चलाउनु पर्छ भनेर हामीले भनिरहेका छौं, डा. कोइरालाले भन्नुभयो, पार्टीलाई तदर्थवादमा चलाउन पाइदैन ।’

नजिकिदो १४ औं महाधिवेशनमा तपाई पार्टीको सभापतिको उम्मेदवार हो ? भन्ने प्रश्नमा डा. कोइरालाले हाँस्दै अहिले नै त्यो भन्ने बेला नआएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा रहेका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकार यही रवैयाले अघि बढेमा प्रधानमन्त्रीको राजीनामा माग्नु पर्ने बेला आउने चेतावनी दिनुभयो । उहाँले सरकारको पछिल्लो गतिविधिले लोकतन्त्र घुम्ने खतरा रहेको चिन्ता गर्नुभयो ।