मोरङ प्रशासनले बाढीपिडितको रकम रोक्यो, पिडितद्धारा स्थानीय प्रशासन घेराउ

0
Shares

विराटनगर । स्थानीय प्रशासनले एक आर्थिक बर्षको रकम अर्को आर्थिक बर्षमा वितरण गर्न नमिल्ने भनी वितरणमा रोक लगाएपछि मोरङका बाढी पिडित आन्दोलनमा उत्रिएका छन ।
बाढी गएको एकबर्ष वित्नलाग्दा समेत राहत नपाएपछि मोरङका बाढी पीडितमा आक्रोश बढदै गएको छ । राहत नपाएका बाढी पीडितहरुले स्थानिय निकाय घेराउ र तालाबन्दी लगायतका कार्यक्रम गरिरहेका छन ।

राहत नपाएको भन्दै कटहरी गांउपालिकाका बाढी पीडितहरुले सोमबार दिउसो गांउपालिका परिसरमा धर्ना दिए । कटहरी गांउपालिकाका विभिन्न वडाबाट आएका सयौं संख्याका बाढी पीडितले गांउपालिका परिसरमा जम्मा भएर राहत नपाएको भन्दै आक्रोश ब्यक्त गरे ।

उनिहरु गांउपालिका प्रमुख रामकुमार कामतको कार्यकक्ष अगाडि उभिएर राहत नपाएको भन्दै आक्रोश ब्यक्त गरे । विभिन्न कारण देखाउदै राहत उपलब्ध नगराइएका कारण आफुहरुको बिजोग बाढी पीडितले गुनासो गरेका छन । कटहरी गांउपालिका २ की रजनी देवीले अहिलेसम्म राहतको नाउमा जम्मा २ हजार पाएको दाबी गर्नुभयो ।

सयौंको संख्यामा जम्मा भएका बाढी पीडितले गांउपालिका परिसरमा होहल्ला समेत गरेका थिए । बाढी पीडितका प्रतिनिधिले सो बिषयमा गांउपालिका प्रमुख कामत समक्ष गुनासो पोखेका थिए । सो बिषयमा जानकारी दिनुहुंदै गांउपालिका प्रमुख कामतले कटहरी गांउपालिकामा १ हजार ५ सय १७ जना बाढी पीडित भएकोमा राहतकालागि ३ करोड ७९ लाख २५ हजार रकम आएको बताउनुभयो । तर पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले राहत वितरण नगर्न पत्र पठाएपछि रकम वितरण गर्न नसकिएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासनको आदेशले राहत वितरण हुन नसकेको जानकारी पाएका बाढी पीडित त्यसपछि भने जिल्ला प्रशासन कार्यालयतर्फ गएका थिए । राहत नपाएको बिषयमा उनिहरुले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य समक्ष गुनासो पोखेका थिए ।

सो क्रममा बाढी पीडितहरुले राहत पाउनुकासाटो आफुहरुलाई दुख दिने काम मात्र भएको गुनासो गरेका थिए । केहिदिन अघि मात्र विराटनगर महानगरपालिकाको वडानम्बर २ का बाढी पीडितले समेत राहत नपाएको भन्दै महानगरपालिकाको सभाकक्षमा होहल्ला गरेका थिए ।
उनिहरुले महानगर उपप्रमुख इन्दीरा कार्कीलाई भेटेर तत्काल राहत उपलब्ध गराउन माग गर्दै नदिए तालाबन्दी गर्ने चेतावनी समेत दिएका थिए ।

बढी पीडितले राहत नपाएको बिषयमा प्रतिक्रिया दिनुहुंदै प्रमुख जिल्ला अधिकारी आचार्यले एक आर्थिक बर्षको रकम अर्को आर्थिक बर्षमा वितरण गर्न नमिल्ने भएकाले रोक लगाइएको जानकारी दिनुभयो । उहांले रकम आएर महिनौसम्म बसेपनि अषाढ मसान्त अगाडि वितरण नगरिएकाले समस्या सृजना भएको प्रतिक्रिया दिनुभयो ।